By: Kevin Pariyar
केहि समय अगाडिदेखि हाम्रा केहि दाजुभाईहरूले ओरिजिनल नामको नारा लगाउँदै आएका छन् र ओरिजिनल नाम, हिब्रुमूलशब्द र त्यसको प्रयोगको आवश्यक्तालाई निकै जोड दिंदै आएकाछन् । उनीहरूले जोड मात्रै दिएका होइनन् तर निकै ठूलो रडाको मचाएर बिभाजन समेत गरेकाछन् अनि आफ्ना लागि एउटा झूण्ड नै खडा गरेकाछन् । प्रभु येशू ख्रीष्टको नामको बारेमा अध्ययन गर्नु, बुझ्नु र बुझाउनु त आवश्यक कुरा नै हो तर आवश्यक्ताभन्दा धेरैमाथि कुरा गर्नु धेरैलाई दु:ख दिने काम गर्नु हो । यहि गम्भीर बिषयलाई ध्यानमा राख्दै यस अंकमा छोटो टिपणी राख्ने आँट गरेकाछौं । प्रभु येशू मसीहको नाम हामी विश्वासीहरूसँग प्रतक्ष्यरूपले सम्बन्धित रहेकोछ । प्रभु येशूको नाम हामी विश्वासीहरूका निम्ति कति महत्वपूर्ण छ र कसरी हामीसँग सम्बन्धित रहेकोछ भन्ने बारेमा दाजु R.K. Campbell ले यसरी लेखेकाछन् : “यसरी, येशू ख्रीष्ट जो उहाँको अनमोल नाम हो, त्यस नामले उहाँको व्यक्तित्वको सत्यतालाई अविस्मरणीय ढंगले घोषणा गर्दछ। उहाँको कार्य र अधिकारलाई बताउँदछ। अब त्यो नाम उहाँका मानिसहरूलाई नै सुम्पिएको छ। जुन संसारले उहाँलाई तिरस्कार गर्यो त्यही संसारमा उहाँका मानिसहरूहरूले उहाँको नामको जगेर्ना गर्नुपर्छ, त्यस नामको महिमालाई कायम गर्नुपर्छ। उहाँको दीब्य नामलाई हामीले मानिसहरूका सामुन्ने स्वीकार गर्नुर्पछ । कहिले पनि इन्कार गर्नुहुँदैन।
उहाँको नामलाई स्वीकार गर्नु भन्नुको अर्थ चाहिँ उहाँको ईश्वरत्वलाई, उहाँको सिद्ध मानवतालाई, उहाँका मानिसहरूलाई दिने उहँको उद्धारलाई अपनाउनु हो र उहाँलाई आफनो मुक्तिदाता, गूरू, प्रभु, मध्यस्थकर्ता, मूख्य पूजाहारी र राजा भनेर मानिलिनु हो। विश्वासीको सर्म्पूण स्थिति (खड़ा हुवई) र हिँड़ाई उहाँको अद्धभूत नामसँग सम्वन्धित रहेको छ। उहाँको नामको खातिर नै हाम्रा पापहरू क्षमा भएका छन्। (१ यूहन्ना २:१२); प्रभु येशूको नाममा नै हामी धर्मी ठहरिएका हौं। (१ कोरिन्थी ६:११); उहाँकै नाममा हाम्रा प्रार्थनाहरू चढ़ाइन्छ। यूहन्ना १६:२३); हाम्रा प्रत्येक वचन र कामहरू सबै नै उहाँकै नाममा गरिनुपर्दछ। (कलस्सी ३:१७), अनि हाम्रो एकसाथ भेला हुवाई पनि केवल उहाँको नाममा हुनुपर्छ। (मत्ती १८:२०; १ कोरिन्थी ५:४) उहाँकै नामको खातिर हाम्रा गोठालाले हामीलाई धामिर्क्ताका बाटोमा डोर्याउनुहुन्छ। (भजन २३:३) यसकारण उहाँको नामलाई इन्कार नगर्नलाई हामी पवित्रता र धामिर्क्तामा हिँड़नुपर्छ। हामीले अघि नै हेरिसक्यौं कि फिलाडेल्फियाको मण्डलीका केहि नैतिक आचरण चाहिँ उहाँको नामलाई इन्कार नगर्नु नै थियो जसलाई हामी प्रभुले गरेका प्रशंसाका वचनहरूमा पाउन सकछौं।
अभिप्रेरित लेखक याकुबले उहाँको नामको बारेमा यसरी बताउँछन्, “त्यस माननीय नाउँ, जसबाट तिमीहरूलाई बोलावट भएको छ।” (याकूब २:७) अनि पत्रुसले चाहिँ “उहाँको नाउँमा निन्दा सहने” र ख्रीष्टयान भएर दु:ख भोग्ने विषयमा बताएका छन्। (१ पत्रुस ४:१४,१६) ख्रीष्ट्यान नामले त्यस व्यक्तिलाई संकेत गर्दछ जो ख्रीष्टको हो। त्यो “योग्यको नाउँ” जसद्वारा एउटा ख्रीष्ट्यानको बुलावट भएको छ। ख्रीष्टका चेलाहरू त्यस नाउँमा प्रशन्न हुनुर्पछ र त्यो धन्यको नाम “ख्रीष्ट्यान” बाहेक अन्य सबै नामहरूलाई इन्कार गर्नुर्पछ, जस्तै “चेलाहरू” “भाइहरू” र “सन्तहरू जसलाई परमेश्वरका आत्माले शास्त्रमा सबै विश्वासीहरूको सम्वन्धमा बताउनु भएकोछ।” (प्रेरित ९:१०,२५; ११:१,२६,१३:४०; २०:७; २८:१५; ऐफिसी १:१)
जन्ममा दिएको नाम अर्थात उहाँले मानव अवतार लिँदा पाउनु भएको नाम
The name given at His Birth
कुरा साँचो हो कि परमेश्वर स्वयंले नै आफ्नो दूतद्वारा यूसुफलाई आफ्नो पुत्रको नाम येशूआ (येशू) राख्नु भनेर आदेश दिनुभएको थियो। यो हिब्रु भाषामा नै दिएको नाम थियो। एउटा हिब्रु मान्छेलाई अर्थात व्यवस्थाको अधिनमा जन्मिएको हिब्रु मानिसको छोरोलाई पक्कै पनि हिब्रुहरूलाई दिने नाम दिएको थियो। यस्तो नाम दिने परमेश्वरकै ईच्छा थियो, किनभने यहि नाम राख्नलाई स्वर्गबाट यूसुफलाई आदेश आएको थियो। यद्यपि यस्तो नाम कहिले पनि कुनै स्वर्गदूतलाई पहिला दिएको थिएन। यो नाम स्वर्गका प्राणीहरू कसैसँग जोडिने अथवा मेलखाने थिएन। यो सयप्रतिशत मानिसलाई दिने नाम थियो। मत्तीले दिएको विवरण अनुसार, जब यूसुफले आफुले मगनी गरेकी कन्य मरियम गर्भवती बनेकी थाहा पाएर मन मनै छाडीदिने बिचार गरिरहेका थिए, तब उनलाई सपनामा परमप्रभुका एउटा दूतले यसो भनेर दर्शन दिए, “ए यूसुफ, दाऊदको छोरो, तिम्री पत्नी मरियमलाई तिमीकहाँ ल्याउनलाई नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट कै हुनुहुन्छ। तिनले एउटा पुत्र जन्माउनेछन्, र तिमीले उहाँको नाम येशूआ राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट उद्धार गर्नुहुनेछ।” (मत्ती १:२०-२१) येशूआ (येशू) नाम बिशेष गरेर उहाँको कामको सन्दर्भमा दिएको छ। यो नाम नयाँ नियमको पहिलो पुस्तकको पहिलो अध्यायमा पहिलो पटक उल्लेख छ। सकली हिब्रु भाषामा येशू मात्र हुँदैन तर येशूआ अथव यहोशूआ हुन्छ भन्ने दाबि धेरैको रहेको छ। अनि येशूआको अर्थ यहोवा उद्धारकर्ता हुनुहुन्छ हो अर्थात उद्धार चाहिँ यहोवा परमेश्वरबाटको हो। हिब्रु भाषामा यहोवा भनेको परमेश्वरको पूकारा गर्ने नाम हो। यसकारण, यो नाम प्रथम पटक नयाँ नियममा घोषणा हुनुले हामीलाई स्पष्ट पर्दछ कि येशूआ अर्थात परमेश्वर स्वयं नै उद्धारक हुनुहुन्छ भन्ने नाम उहाँ जन्मनु अघि नै पिताले उहाँलाई दिएको नाम हो। परमेश्वरका दूतले यूसुफलाई सपनामा आफ्नो छोराको नाम यहि राख्नु भनेर भन्नुभएको थियो। येशूआ भनेको कुनै स्वर्गदूतको अर्थात स्वर्गका प्राणीहरूको नामसँग मिल्ने नाम थिएन। यो नाम कुनै अलौकिक ढाँचाले मानिसले बुझ्नै नसक्ने र भन्नै नसक्ने किसिमले रचिएको नाम पनि थिएन। यो नाम पुरानो नियमका एक अगुवा अर्थात मोशाका उत्तराधिकारी (चेला) यहोशूलाई दिएको नाम थियो। अंग्रेजीमा Joshua भनिन्छ जो नूनका छोरा थिए। नूनका छोरा यहोशूले नै कनानको भूमी पत्ता लगाएर इस्राएलीहरूलाई त्यहाँसम्म पुरर्याएका थिए। एक किसिमले भन्नुपर्दा तिनले इस्राएलीहरूलाई उद्धार गरेर प्रतिज्ञाको देशमा पुराएका थिए तर यहोशूआले पापदेखि उद्धार गर्ने काम गरेनन्। उनलाई प्रभु येशूकैरूपमा (नक्शामा) हेर्दा पनि पापदेखि उद्धार दिने मुक्तिदाताको रूपमा देखिँदैन तर यहोशूआको मूख्य कार्य भनेकै शत्रुहरूसँग लड्ने थियो। यसले उनलाई मुक्तिदाताको प्रतिनिधि नभएर दैनिक शक्ति जो प्रभुबाट आउँछ त्यसको प्रतिनिधि मान्न सकिन्छ। हिब्रु ४:८ अनुसार पूरानो नियमको यहोशूआको ग्रीकरूप IESOUS हुने भएकाले (JESUS) नाम त्यहाँबाट भाषान्तर गरेर राखिएको हो। यसकारण हिब्रु-अरामिकमा येशूआ भने पनि, ग्रीक येशूस भने पनि, अंग्रेजीमा JESUS भने पनि त्यो नाम त्यहि नाम थियो जो प्रभु येशूलाई दिएको थियो। यो नाम सामान्य मानिसलाई दिने नाम थियो। JND, FW Grant, JG Bellet, Edward Dennet र अन्य धेरै पूराना लेखकहरू यस कुरामा सहमत छन् कि येशूआ नाम पूरानो नियमको यहोशूको नाम थियो। बाईबलको पाँचौं पुस्तकको नाम पनि यहोशू हो। अनि यहोशूआको अर्थ परमेश्वर उद्धारकर्ता हो। पूरानो नियमका केहि व्यक्तिहरू पनि यहोशूआ नामले परिचित छन्। जस्तै पूजाहारी दलका केहि मानिसहरूको नाम पनि यहोशूआ अर्थात येशूआ थियो भन्ने एज्रा र नेहेम्यमा पाइञ्छ। अब किन प्रभु येशूलाई कुनै स्वर्गदूतको नाम अर्थात कुनै स्वर्गका प्राणीहरूको नाम नदिएर मानिसलाई दिएको नाम दियो त? यहि कारणले उहाँलाई मानिसलाई दिने नाम दिएको थियो कि उहाँ सयप्रतिशत ईश्वर भएर पनि उहाँले मानिसकोरुप लिनुभयो भन्ने वस्तविक्ता देखाउनलाई दिएको थियो। उहाँले रूपमा मानिस भएर कमराको रुप लिनुभयो भनेर फिलिपिमा लेखिएको छ। यसरी उहाँ सयप्रतिशत मानिस बनेर यस संसारमा आउनुभयो। जब उहाँ पवित्र आत्माद्वारा मरियमको गर्भमा गर्भधारण गर्नुभयो उहाँ सयप्रतिशत ईश्वर नै हुनुनुन्थ्यो अनि जब उहाँको नाम यहोवा परमेश्वर नै उद्धार हुनुहुन्छ भनेर राखियो यसमा उहाँको ईश्वरत्व सयप्रतिशत गाँसिएको छ। यस बिवरणबाट उहाँको ईश्वरत्व र मानवता दुवै झल्किएको छ अनि उहाँ नै संसारका मुक्तिदाता हुनुहुन्छ भन्ने वस्तविकता उहाँको जन्ममै घोषणा भएको थियो।
मत्ती १:२२-२३ मा उहाँलाई अर्को नाम पनि दिएको थियो जो भविष्यवक्ता यशैयाले भविष्यवाणी गरे अनुरुप दिएको थियो। भविष्यवक्ताले आगमवाणी गरेको नाम ईम्मानुएल थियो जसको अर्थ परमेश्वर हामीसँग हुनुहुन्छ हो। यस नामले वस्तवमा अघिल्लो नाम येशूआ अर्थात येशूलाई पूर्णता दिएको छ। यसले प्रभु येशू ख्रीष्ट मानव अवतारमा आउनुभएको र मानव जातिसँग बास गर्नुभएको सत्यतालाई स्पष्ट ढंगले दर्शाएको छ। उहाँ आफ्ना मानिसहरूसँग बास गर्नुहुने महान सत्यतालाई स्पष्ट ढंगले झल्काएको छ।मत्तीको सुसमाचार लेखिँदासम्म यो भविष्यवाणी ईस्राएल जातिमा मात्र सिमित थियो। यो भविष्यवाणीले ईस्राएलका आशा मसीहलाई संकेत गरिरहेको थियो तर ईस्राएल जातिले उहाँलाई चिनेन। जसरी यूहन्नाको सुसमाचारमा लेखिएको छ, “उहाँ आफ्नैकहाँ आउनुभयो तर आफ्नैहरूले उहाँलाई चिनेनन्।” ईस्राएल जातिले उहाँलाई तिरस्कार गर्र्यो, फलस्वरूप प्रभु येशूले आफ्नो राज्य संसारभरि फैलाउने निर्णय गर्नुभयो। मत्ती १३ अध्यायमा प्रभु येशूले आफ्नो राज्यको संदेश सारा दुनियामा फैलाउने निर्णय गर्नुभयो र यस संसारका जुनै जातिको हृदय पनि एउटा मलिलो जमिन बन्न सक्छ र त्यसले सय गुणा, साठी र तीस गुणा फल फलाउने सम्भावना रहेको कुरा दर्शाउनु भयो जो आज त्यहि भैरहेको छ। यसकारण यो आशा ईस्राएल जातिका लागि अझै पूरा भएको छैन। जब प्रभुले आफ्नो हजार बर्षको राज्य स्थापित गर्नुहुनेछ र उहाँ ईस्राएलका राजा भएर राज गर्नुहुनेछ त्यस समयमा यो भविष्यवाणी पूरा हुनेछ।तर हामीले मत्तीले कुन कुरालाई संकेत गरेर लेख्दै थिए भनेर बुझ्नु पनि अत्यन्तै जरूरी छ। मत्तीले आफ्नो सुसमाचार लेख्दासम्म प्रभु येशू ईस्राएल जातिको मात्र मुक्तिदाता हुने कुरामा सिमित थियो । “उहाँले आफ्ना मानिसहरूलाई उनीहरूका पापबाट बचाउनुहुनेछ” भनेर लेखिँदा ती उहाँका मानिसहरू ईस्राएल जातिलाई नै संकेत गरिएको थियो। प्रभु येशूले बेतलहेममा जन्म लिएको समयमा यहूदी जातिहरू रोमीहरूको कब्जामा थिए। उनीहरूले रोमिहरूको दबाब र दमनलाई खपिरहेका थिए। लूका १:६७-७५ मा जकरियाको स्तुतिगानमा यो कुरा उल्लेख छ कि उहाँ दाउदका घरानाका लागि एउटा मुक्तिको सिङ्ग हुनुहुन्छ, भविष्यवक्ताहरूले आगमवाणी गरिएको व्यक्ति उहाँनै हुनुहुन्छ अनि उहाँले नै हाम्रा शत्रुहरूबाट र हामीलाई घृणा गर्नेहरू सबैको हातबाट हामीलाई बचाउनलाई परमेश्वरको प्रतिज्ञा अनुसारको व्यक्तिकोरूपमा प्रस्तुत गरेका छन् । ईस्राएलीहरूमाथि रोमीहरूको दमनको प्रमाण अर्थात ज्वलन्त उदाहरण चाहिँ हामी बराब्बाको कथामा पाउँछौ । बरब्बा एउटा नामी कैदी थियो। (मत्ती २७:१६) बरब्बा एक राजद्रोही नेता थियो अनि राजद्रोह गर्ने क्रममा धेरैलाई हत्या गर्दै हिँड्ने एक हत्यारा थियो। (मर्कूस १५:७) बरब्बा शहरमा गरिएको कुनै राजद्रोह र हत्याको कारणले झ्यालखानामा हालिएको थियो। (लूका २३:१९) बरब्बा सम्भवत रोमी शासनलाई हटाउन चाहने यहूदी क्रान्तिकारी समूहको एक नामी नेता थियो। यस यहूदी क्रान्तिकारी समूहले आफ्नो धार्मिक र राजनैतिक स्वतन्त्रताका लागि आन्दोलन गर्दै आफ्नो अधिकारको लडाईं लडिरहेको थियो। उनीहरूले रोमीहरू ईस्राएलमा बसोबास गरेकोमा रुष्ट बनिरहेका थिए। बरब्बाले यो उग्रक्रान्तिकारी समूहको कूसल नेतृत्व गरिरहेको थियो। क्रान्तिकारी आन्दोलनका क्रममा धेरै निर्दोषहरूको रगत बगाएको थियो, अनि धेरैको हत्या पनि गरेको थियो। यस्तै राजद्रोह र हत्याको अपराधमा बरब्बा कैदखानामा हालिएको थियो। खासमा बरब्बाको पहिलो नाम पनि येशूआ थियो अनि उसको थर चाहिँ बार थियो। मत्ती २७:१७ मा जब पिलातसले मानिसहरूलाई सोधे त्यस बेला उनले यसरी प्रश्न गरेका थिए। “तिमीहरू कसलाई छुटाएको चाहन्छौ, बरब्बा कि ख्रीष्ट भनिने येशूलाई?” ख्रीष्ट अर्थात मसिह भनिने येशूलाई भनेर चिनाउन खोज्दा यहाँ दुईजना येशूआ नामका व्यक्ति थिए भन्ने बुझिन्छ। बाईबलका अन्य अनुवादहरूमा “तिमीहरू कसलाई छुटाएको चाहन्छौ, येशूआ बारलाई कि ख्रीष्ट (मसिह) भनिने येशूआलाई चाहन्छौ भनेर सोधिएको देखिन्छ। येशूआ बारको अर्थ पनि पिताको पुत्र भन्ने हुन्थ्यो अनि येशूआ मसीहको अर्थ पनि पिताका पुत्र नै हो। मानिसहरूले ईस्राएलका मसीहलाई क्रूसमा चडाउन माग गरे तर उनीहरूको भौतिक उद्धारका लागि लडिरहेका बरब्बालाई रोजे। बरब्बाको चर्चा गर्ने मेरो उद्देश्य होइन तर रोमीहरूको दबाब यहूदी जातिमा कति घोररुपले व्यप्त थियो भन्ने बताउन चाहेको हो। सायद उनीहरूले फ़िराउनको शासनलाई अनुभव गरिरहेका थिए त्यस समयमा। त्यसैले उनीहरूले ईस्राएलको मुक्तिदाता खोजिरहेका थिए अनि प्रभु येशू नै उनीहरूको उद्धारकर्ता हुनुहुन्थ्यो।
मलाई लाग्छ कि मत्तीले आफ्नो सुसमाचार लेख्दा प्रभु येशूलाई ईस्राएलका राजाकोरूपमै परिचय गराउँदै लेखिरहेका थिए। उनले ईस्राएलका मुक्तिदाता (मसीह) हुनुहुन्छ भनेर दर्शाईरहेका थिए। उनले प्रभु येशूको पूर्खा र बंशवलीबाट शुरू गरेका छन् । उनले प्रभु येशू ख्रीष्टको बंशवली अब्राहम र दाउदसँग जोडेका छन्। “अब्राहमका पुत्र, दाउदका पुत्र, येशू ख्रीष्टको बंशवली” भनेर शुरू गरेका छन् । मत्तीले उहाँको जन्मको उल्लेख गर्दा प्रभु येशूको आधिकारिक पक्षबाट (legal Side) लेखिरहेका थिए। तर लूकाले उहाँको जन्मको उल्लेख गर्दा अर्थात बंशवालीको उल्लेख गर्दा यूसुफको बंशवलीबाट शुरू गरेका छन् जो सामान्य मानिस थिए तर लूकाले दिएको सम्पूर्ण बंशवलीलाई हेर्दा लेवी र पूजाहारी कूलका मानिसहरूको नामावली उल्लेख छ। लूकाले प्रभु येशूलाई राजा नभएर मानिसका पुत्रकोरूपमा उल्लेख गरेका छन्। एक अनुग्रही व्यक्ति जो हराएकालाई खोज्न र बचाउन आउनुभयो। हो, उहाँको नाम हिब्रु-अरामिकमा येशूआ थियो। स्वर्गदूतले यूसूफ र मरियमलाई यहि नाम राख्नलाई आदेश दिनुभएको हो। तर यो नाम अन्यजातिको भाषा ग्रीक र ल्याटिनमा भाषान्तर गर्नु पर्दा केहि फरकरुप देखियो। भन्ने गरिन्छ ग्रीक वर्णमालामा “श” SH अक्षर हुँदैन र ग्रीकहरूलाई “श” लवज निकाल्नलाई गाह्रो हुन्थ्यो। ग्रीक वर्णमालामा अक्षर “Y” पनि हुँदैन त्यसैले YE को ठाउँमा IE राखे र “shua” को ठाउँमा SOUS राखेर सक्दो नजिकको रपान्तरित गरेर प्रयोग गरे। अन्यजातिको भाषाको त कुरै छोडौं, हिब्रु भाषा बोल्नेहरूले नै यस नामको बिभिन्नरुप हुने दाबि गरेका छन्। कतिले यहोशूआ (JOSHUA) सहि भन्छन्, कतिले YESHUA चाहिँ सहि भन्छन्, कतिले यहूशा चाहिँ सहि हो भनेर दाबी गरेका छन्। वर्तमान ईस्राएलमा त झन येशू भनेर भनिन्छ भनेको पनि कतै सुनेको छु र पढेको पनि छु। यसकारण हिब्रु नामको दाबी गर्नेहरूमै एकरुपता देखिँदैन। हिब्रु भाषा बोल्नेहरूमै एकरुपता छैन भने अन्यभाषामा रूपान्तरित गर्दा झन् कति फरक हुनसक्छ। हिब्रुमा दिएको नामको चर्चा गर्ने क्रमको अन्तमा यहि देखाउन चाहिरहेको छु कि प्रभु येशूलाई हिब्रु-अरामिकमा येशूआ अर्थात यहोशूआ भनेर नै कहलाइन्छ तर वर्तमान समयमा हामीले चलाएको नाम अर्थात चलन चल्तिमा रहेको नाम जो नेपालीमा येशू र अंग्रेजीमा JESUS भनेर प्रयोग गरिने गरिन्छ त्यो नाम अनुबाद गरिएको नाम होइन तर भाषान्तर (transliterated) गरिएको नाम हो। यसकारण म अन्योलमा परेको कुरा चाहिँ यहि छ कि हाम्रा प्रिय दाजुभाईहरूले यस्तो एकोहोरो दाबी गर्न कसरी सिके र किन यो दाबीले उग्ररुप लियो? के यसो गर्नु त्यस्तो जरूरी थियो? मलाई लाग्छ ती सब गर्नु जरूरी थिएन। किनभने सबै भाषा एउटै हुँदैनन्। हिब्रु भाषा अन्य कुनै भाषाभन्दा पवित्र भाषा पनि होइन। अन्तमा EDWARD DENNETT को यो छोटो टिपणीलाई हेरेर हामी अर्को शिर्षकमा प्रवेश गर्नेछौं। “यो कुरा सत्य हो कि उहाँको जन्मको प्रतिज्ञा प्राथमिकरूपले ईस्राएलजातिलाई नै दिएको थियो तथापि हामीले यो कुरा कहिले भुल्नु हुँदैन कि जुन पापबाट उहाँका मानिसहरूलाई बचाउनुहुनेछ भनेर प्रतिज्ञा गरिएको थियो त्यहि उद्धारको कार्यद्वारा उहाँले हाम्रो उद्धार गर्नुभएको छ। ईस्राएल जतिको तिरस्कारको कारणले गर्दा अब यो उद्धार हामी अन्यजातिहरूकहाँ आएको छ। यसैकारण प्रेरित पावल भन्छन् , “जुन कुरा मैले पनि पाएको थिएँ, अर्थात पवित्र शास्त्रमुताबिक ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो र गाडिनुभयो, अनि पवित्र शास्त्रमुताबिक, उहाँ तेस्रो दिनमा बौराइनुभयो।” (१ कोरिन्थी १५:३-४) यदि त्यसो हो भने, अब हामीले यो अचम्मको अनुग्रहका लागि परमेश्वरलाई निरन्तर धन्यबाद र प्रशंसा गर्नुपर्दछ। जुन अनुग्रहलाई ईस्राएल जातिले अस्विकार गरयो त्यहि अनुग्रह आज हामी अन्यजातिकहाँ सरयो जसले हामीलाई परमेश्वरका हकवाला र ख्रीष्टमा साझे हकवाला बनाउने अभिप्रायलाई प्रकाश गरयो। यसकारण हाम्रा हृदयहरू उहाँको नाम अर्थात येशूप्रति श्रद्धालु, भक्तिमय र आभारी बनिरहनुपर्छ किनभने यो सौभाग्य अहिले हामीलाई दिएको छ। ईस्राएलजातिको तिरस्कारको कारण परमेश्वरको उद्देश्य अब हामी अन्यजातिहरूकहाँ आएको छ।” यसकारण उहाँको नाम समेत अन्यजातिहरूको भाषामा पूकारा गर्नलाई परमेश्वरले अनुमति दिनुभएको छ। ग्रीक भाषामा भाषान्तर गरिएको नामलाई नै परमेश्वरले कदर गर्नुभएको छ। यदि परमेश्वरले यस नामलाई कदर नगरेको भए आज दुनियामा यति महान काम हुने थिएन। प्रिय दाज्युभाई दिदीबहिनीहरू यस बिषयमा अन्योलमा नपर्नुहोस। परमेश्वरले यहूदी क्षेत्रबाहिर उहाँको पुत्रको शरीर मण्डलीका लागि काम गरिरहनु भएको छ। हामी अन्यजाति हौँ जसले परमेश्वरको यो सित्तैको अनुग्रहको वरदान पाएका छौं।
भाषाको विविद्दता-Variations in Languages
अब येशूआ नाम जो अहिले प्रचलित हुन आएको छ त्यो नाम हिब्रु नाम नै थियो तर त्यो नामलाई एउटा भाषादेखि अर्का भाषाका मानिसहरूले प्रयोग गर्दा भाषनतरित गरेर प्रयोग गरे। अहिले केहि दाज्युभाईहरूले हिब्रु भाषामा मात्र प्रभु येशूको नाम पूकारा गरिनु पर्छ भनेर जोड दिएका छन् त्यो सरासर एकोहोरो दाबी रहेको देखिन्छ। हिब्रुमा हेर्दा यहोशूआ (JOSHUA) भनिन्थ्यो भने त्यहि नाम अरामिकमा येशूआ भएर प्रयोग भएको देखिन्छ। म त भन्छु यदि यो नाम पूरानो नियमको नूनका छोरा यहोशूआलाई दिएको ठिक त्यहि नाम हो भने हिब्रुमा यहोशूआ चाहिँ हुन्छ। तर प्रभु येशू स्वयंले बोलेको भाषा अरामिकमा यहोशूआ नभएर येशूआ भनेर चल्ति ल्याईएको देखिन्छ। एक सम्मान रहेका भाषा हिब्रु र अरामिकमै अलिकति फरक देखिन्छ भने अब विचार गर्नुहोस् कि यो नामलाई अन्य भाषा अर्थात अन्याजातिको भाषामा भाषान्तरित गर्दा कति फरक हुन्छ होला ? भाषानुबाद र भाषान्तरमा धेरै फरक हुन्छ। भाषानुबादमा एउटा भाषाबाट अर्को भाषामा अर्थ लाउने गरिन्छ भने भाषणन्तरमा एउटा भाषाको शबदलाई अर्थात नाम वा बस्तुलाई जस्तोको त्यस्तै हिज्जे गर्न खोज्नुलाई भाषणन्तर भनिन्छ। तर एउटा भाषाको शब्द अर्थात नामलाई अर्को भाषामा जस्तोको त्यस्तै भन्न गाह्रो हुने कुरा तपाई हामी सबैको अनुभवको कुरा हो। यसरी यहोशूवा नाम एउटा भाषादेखि अर्को भाषामा सर्दै आउँदा यसको हिज्जे र उचारणमा केहि फरक देखिनु स्वाभाविक मान्नुपर्छ। धेरै जानकारहरू र ईतिहासकारहरूले यो कुरा पुष्टि गरेका छन् कि हाम्रो बाईबलमा रहेका नयाँ नियमका २७ वटा पुस्तकहरू ग्रीक भाषामा लेखिएका थिए। भन्ने गरिन्छ कि मत्तीको सुसमचार चाहिँ हिब्रुमै लेखिएको थियो तर पछि मत्ती आफैले त्यसलाई ग्रीकमा अनुबाद गरेका थिए। अब हिब्रुको यहोशूआ नाम अरामिकमा आउँदा येशूआ भयो अनि त्यसलाई ग्रीकमा लैजाँदा IESOUS (ईसोस) भयो। पछि ल्याटिनमा लैजाँदा IESUS (ईसुस) बन्यो। अब प्रश्न उठ्छ, यदि नयाँ नियमका सम्पूर्ण पुस्तकहरू ग्रीकमा लेखिएका हुन् र ग्रीकमा येशूआलाई IESOUS (ईसोस) भनिन्छ भने, के यो नाम प्रभुका चेलाहरूले नै बदलाएका थिएनन् र? हाम्रो साधारण सोचले यहि बुझाउँछ अनि हामी संसारभरिका भाषा जान्ने भाषाविद पनि होइनौ अनि किन यी भाषाविदहरूले यसरी रूपान्तरित गरिएदिए त्यो भाषा क्षेत्रका विद्द्वानहरूनै जानुन। हामी लेखा-पडा नभएका सर्वसाधारणमाथि यो भाषाको गर्हुङ्गो जुवा नबोकाइयोस, प्रभु ! जुन जुवा न ता पौराणिक ख्रीष्टियनहरूले बोके न हामीले बोक्नु पर्छ भन्ने कुनै वचनको आज्ञ छ। आफ्नो भाषामा मुक्तिदाता प्रभु येशू भनेर नेपालीको चल्ति भाषामा पूकारा गर्दा गल्ति हुँदैन किनभने त्यहि नामलाई बिश्वास गरेकाले नै हामी विश्वासी बनेका हौँ। यो नाम एउटा भाषादेखि अर्कोमा लैजाँदा कहिले पनि सद्देरूपले एकै किसिमको रहन सकेन। येशूआ नामलाई अराबिकमा ईशा बन्यो, हिन्दीमा लैजाँदा ईशू बन्यो अनि यस्तै गरी संसारभरिका भाषामा आफ्नै किसिमले भनिने गर्दछ। हाम्रो नेपाली भाषामा येशू भनेर भन्न सक्ने हामी नेपालीलाई येशूआ भन्नलाई कुनै त्यस्तो भारीबातको कुरा होइन। येशू भन्नेले येशूआ भन्न सक्छन् अनि येशूआ भन्न पनि सकिन्छ तर हाम्रो समाजमा परिचित नाम येशू हो जो बिश्वास नगर्नेले पनि सुनेका छन्, यदाकदा पढेकाछन्। यो एउटा परिचित नाम लिएर एउटा उद्धार नपाएको व्यक्तिलाई, “आज म तपाइलाई येशू ख्रीष्टको बारेमा बताउँछु” भन्यो भने उसले बुझ्न सक्छ किनकि उसले उहाँको काम र दानको बारेमा नसुनेको भए पनि नाम त सुनेको हुन्छ। येशूआ भन्दै जाँदा यसको कस्तो प्रभाव हुन्छ आफै बुझ्नुहोस्। यदि तपाईका दर्शकहरू (audience) यहूदीहरू छन् भने उनीहरूका बीचमा तपाईले येशूआ भन्दा उनीहरूका लागि सहज हुन्छ। तपाईले कसको बारेमा कुरा गरेको उनीहरूले बुझ्न सक्छन्। मलाई लाग्छ, यो माथिबाटको ज्ञान हुन्छ जब तपाईले हिब्रु भाषा बोल्नेहरूकहाँ गएर हिब्रु नामको चर्चा गर्नुहुन्छ । जब तपाई अन्यजातिहरूको शहरमा प्रचार गर्नुहुन्छ, त्यसबेला त्यस समाजमा परिचित नामकै चर्चा गर्दा बुद्धिमानी हुने देखिन्छ। जहाँसम्म आत्माको स्वतन्त्रताको सवाल छ, यसमा पनि बुद्धिमत्तताको आवश्यक्ता पर्दछ । प्रेरित पावलका लागि एकसाथ भेला हुने र त्यहाँ गरिने हरेक कुराहरू सुधार र उन्नतिका लागि गरिने कुरा धेरै महत्वका थिए। पहिलो कोरिन्थी १ अध्यायमै पावलले कोरिन्थीहरूलाई, “तिमीहरू सबैले एउटै कुरा बोल, र तिमीहरूका बीचमा कुनै फाटो नहोस् भनेर आग्रहपूर्बक बिन्ति गरेका थिए। (१ कोरिन्थी १:१०) पावलले आफ्नो स्वतन्त्रता प्रयोग गर्न चाहनेहरूलाई यो पनि सचेत गराएका थिए कि यदि तिमीहरूका माझमा कुनै अन्जान मानिस आयो भने तिमीहरूका हरेक कार्यले उसमाथि सकारात्मक प्रभाव पर्नेछ र उसले पनि सत्य परमेश्वरलाई चिन्ने छ। तर हाम्रो आफ्नै गडबडी छ भने त्यस्तो कार्यले एउटा अन्जान अर्थात अविश्वासीलाई कुनै फैदा नपुग्ने कुराको जानकारी गराएका थिए। सबैले एउटै कुरा बोल्ने, अन्यभाषामा बोलिएका कुरालाई अनुबाद गर्ने गरेमा मात्र सबैको उन्नति हुने कुरा बताएका छन् । स्वतन्त्रता खोज्नु दुई मत रोज्नु हो । गडबडी र फाटो रोज्नु हो । एकसाथ भेला हुँदाको सबै सत्यताबाट पर सर्नु हो ।
अब अंग्रेजहरूले प्रयोग गर्ने नाम JESUS पनि मनोमानी ढंगले प्रयोगमा ल्याईएको थिएन। JESUS नाम ग्रीकको IESOUS (ईसोस) देखि ल्याटिनमा IESUS (ईसुस) हुँदै German को JESUS भएर आएको हो। JESUS नाम आफैमा ग्रीक, ल्याटिन र German को नजिक हुँदै आएको छ। अब यो नाम कसरी JESUS भएर प्रचलनमा आयो भनेर यकिन गर्न अझै गाह्रो नै भएको छ तथापि Geneva बाईबल लेखिएदेखि उसो सबै अंग्रेजहरूले JESUS नाम प्रयोगमा ल्याएको अनुमान गरिएको छ। स्विस भाषामा अक्षर J लाई Y को लवजमा उचारण गरिने हुनाले JE लाई YE भयो अनि SUS त्यस्तै रह्यो। भने पछि YE ले ये भयो SUS ले सुस भयो। यसरी स्विस भाषाको YESUS (येसुस) नै अंग्रेजहरूको JESUS हो किनभने अंग्रेजहरूले अक्षर J लाई ज को लवजमा उचारण गर्ने हुनाले JE (जी) बन्यो अनि SUS लाई अंग्रेजी उचारणमा जस वा सस् भनेर उचारण गरियो । यसरी अंग्रेजहरूले JESUS भनेर पूकारा गर्छन्। यसकारण JESUS नाम यी अन्य ग्रीक, ल्याटिन र german नामसँग जोडिएको छ। यो एक भाषादेखि अर्को भाषामा रूपान्तरित अर्थात भाषान्तर गर्ने क्रममा आएको नाम हो । यो अन्यजातिहरूको देवी देवतासँग सम्बन्धित नाम होइन। कसैले त्यस्तो सोच्छ भने त्यो अविश्वासी हो। त्यस्तो मानिस श्रापित पनि हुन सक्छ।
सुसमाचार र पत्रिहरुमा यो नामलाई कसरी प्रयोग गरिएको छ-How this name is used in the Gospel and epistles
एक पूराना लेखक Walte r Scott ले “येशू” (JESUS ) नामको बारेमा यसरी लेखेका छन् । “येशू नाम जो पवित्र र अमूल्य नाम हो यो नाम नयाँ नियममा करिब ७०० पटक उल्लेख भएको छ । जम्मा सातसय पटकमा ६०० पटक चाहिँ सुसमाचारका पुस्तकमा उल्लेख छ। यस नामको बढ्दो प्रयोग सुसमाचारका पुस्तकमा पाइन्छ । मर्कूस र लूकामा १०० -१०० पटक उल्लेख छ। भनौ मर्कूसमा १०० पटक र लूकामा १०० पटक उल्लेख छ । मत्तीले यस नामलाई १७० पटक प्रयोग गरेका छन् भने यूहन्नाले २५० पटक प्रयोग गरेका छन् । प्रेरितको पुस्तकमा त्यति धेरै प्रयोग भएको पाइन्दैन भने प्रेरितका पत्रिहरूमा मात्र ३० पटक प्रयोग गरेको पाइन्छ । यो कुरा धेरै होशियारीका साथ बुझ्नु आवश्यक छ कि पवित्र आत्माले यो अवर्णनीय नामलाई प्रयोग गर्नलाई कुनै विशेषणपदको प्रयोग गरेर लेखिरहनु पर्ने जरूरी ठान्नुभएन। किनभने “येशू” नाम नै काफी भएकाले यसलाई कुनै विशेषण पद लगाईरहनु पर्ने आवश्यकता थिएन। यस नामको महत्व दर्शाउनलाई मानिसको कुनै अलंकार अर्थात भाषाको बढाई चड़ाईको आवशयकता पर्दैनथियो किनकि कुनै मानिसको अर्थात स्वर्गदूतकै भाषाले पनि यस नामको पूर्णरूपले गर्न सक्तैन। यस नामको गौरव र महिमा जो छ त्यो उहाँको नैतिक चरित्रमा, उहाँको सारा व्यक्तित्वमा, उहाँको मार्गमा र कार्यमा छर्लङ्ग छन् जसले उहाँ को हुनुहुन्छ र उहाँ कस्तो व्यक्ति वा ईश्वर हुनुहुन्छ भनेर स्पष्ट पर्दछन् ।”
Walter Sott को लेखबाट हामीलाई यो निश्चित भयो कि “येशू” नाम बढ्दोरुपमा नभएर घट्दो क्रममा नयाँ नियममा प्रयोग भएको रहेछ। प्रेरितका पत्रिहरूमा त झन् मात्र ३० पटक उल्लेख रहेछ । किन यो नामलाई घट्दो क्रममा प्रयोग गरियो भन्ने प्रश्न उठ्छ। कारण यहि हो कि यो नाम उहाँ मानिसको अवतारमा आउनुहुँदा दिएको नाम थियो। येशू नामले उहाँको सम्पूर्ण मानवरूपलाई दर्शाउँछ। उहाँ यस संसारमा एक दुखको मानिस (Man of sorrow) भएर हिड्नु भएको यथार्ततालाई दर्शाउँछ जसरी चारवटा सुसमचारले उहाँको मानवरूपको उल्लेख गरेका छन्। उहाँ मानिस भएर यस संसारमा हिड्नु भयो अनि उहाँको ईश्वरीय महिमालाई छुपाउनुभयो अनि मानिसहरूलाई आफ्नो प्रेमले भलाईको काम गर्दै जानुभयो। यो नाम उहाँले जन्ममा पाउनुभयो अनि यहि नाम मानिसहरूको बिचमा तिरस्कृत बन्यो, यहि नाममा उहाँले सारा दुख भोग्नुभयो। उहाँले मानिसका मुक्तिका लागि आफ्नो प्राण अर्पण गर्नुभयो। अब परमेश्वरले यस नामलाई उचाल्नुभएको महान सत्यता प्रेरितहरूले बुझे र उनीहरूको सम्बोधनमा कहिले “येशू” मात्र लेखेनन् तर प्रभु येशू, येशू ख्रीष्ट, ख्रीष्ट येशू अनि प्रभु येशू ख्रीष्ट लेखे। यसरी येशू नाम हाम्रा प्रभुको मानव नाम हो तर प्रेरितमा पत्रुसले त्यो नामको बारेमा यसरी लेखे। “यसकारण इस्राएलका सारा घरानाले यो निश्चय गरी जानोस्, कि जुन येशूलाई तपाईहरूले क्रूसमा टाँगनु भयो, उहाँलाई नै परमेश्वरले “प्रभु” र “ख्रीष्ट” तुल्याउनुभयो ।(प्रेरित २:३६ ) यो प्रभुको उचालिएको स्थान हो। अब यो नाम येशूबाट मशिह अर्थात ख्रीष्ट भएर बढुवा भयो। विशेष गरेर प्रेरित २:१४-३६ सम्म पड्दा उहाँ कसरी उचालिनुभएको छ भन्ने अझ स्पष्ट हुन्छ। पत्रुस अनि अन्य प्रेरितहरूले यहि महान सत्यतालाई बुझेका थिए, त्यसैले आफ्ना लेख र सम्बोधनमा कहिले सिङ्गो “येशू” लेखेनन् तर उहाँ उचालिनुभएको सत्यतालाई देखाउन येशू मशिह अर्थात येशू ख्रीष्ट भनेर उल्लेख गरे। अब उसो प्रभु येशूको नाम येशूमा अर्थात येशूआमा मात्र सिमित छैन। ख्रीष्ट अर्थात मशिहको दर्जामा बढुवा भएको छ। येशू ख्रीष्ट, ख्रीष्ट येशू अनि प्रभु येशू ख्रीष्टको बारेमा पछि चर्चा गरौंला तर अहिले हामी उचालिएको नामको बारेमा चर्चा गर्नेछौं।
उचालिएको नाम -The Exalted name
“ यसकारण इस्राएलका सारा घरानाले यो निश्चय गरी जानोस्, कि जुन येशूलाई तपाईहरूले क्रूसमा टाँगनु भयो, उहाँलाई नै परमेश्वरले “प्रभु” र “ख्रीष्ट” तुल्याउनुभयो ।(प्रेरित २:३६) उहाँ त्यहि व्यक्ति हुनुहुन्छ जो कन्य मरियममा गर्वधारण हुनुभयो। यहूदियाको बेत्लाहेममा मानव अवतारमा जन्म लिनुभयो। उहाँ त्यहि व्यक्ति जो यस संसारमा एक सिद्ध मानिस बनेर हिँड्नुभयो। उहाँ त्यहि व्यक्ति जो सारा मानिसहरूको पाप बनेर क्रूसको कष्ट अर्थात पापको दण्ड भोग्नुभयो।उहाँ त्यहि व्यक्ति हुनुहुन्छ जसले क्रूसमा प्राण त्याग्नुभयो। उहाँ त्यहि व्यक्ति जो चिहानमा गाडिनुभयो अनि तेस्रो दिनमा बौरी उठेर आफ्ना चेलाहरूकहाँ देखा पर्नुभयो र म नै हुँ भनेर प्रमाण गर्नुभयो। अनि चालिस दिन पछि पाँच हजार मानिसहरूले देख्दा देख्दै उचालिनुभयो र आकाश छिचोलेर पिताकहाँ वापस जानुभयो। उहाँ त्यहि व्यक्ति जो अहिले परमेश्वरको दाहिने हातमा विराजमान हुनुहुन्छ। खोई उहाँको नाम अर्थात सकली नाम कुन भाषामा कसरी भनिन्छ त्यो म जान्दिन तर मैले बिश्वास गरेको व्यक्ति त्यहि व्यक्ति हुनुहुन्छ जसले उक्त उल्लेखित कार्यहरू सिध्याएर पिताको दाहिने हातमा विराजमान हुनुहुन्छ अनि अहिले उहाँ शरीर अर्थात मण्डलीका शिर हुनुहुन्छ ।
अब उप्रान्त नेपालीमा येशू भने पनि, हिब्रु-अरामिकमा येशूआ अर्थात यहोशूआ भने पनि, ग्रीकमा ईसोस् भने पनि, ल्यटिनमा ईसुस भने पनि, अराबिकमा ईशा भने पनि, हिन्दीमा ईशु भने पनि यो सिंगो नाम क्रूसको मृत्युसम्म मात्र सिमित रह्यो। प्रभु येशू मृत्युमा गएर बौरी उठ्नुभए पश्चात उहाँको नामको बढुवा भएको कुरा पत्रुसले उल्लेख गरेका छन्। सुसमाचारमा बाहेक यो नाम सिंगो रुपले “येशू” मात्र भनेर उल्लेख छैन। प्रेरितमा प्राय जसो प्रभु भनेर उल्लेख गरिएको छ। प्रभु येशूको उच्चताको बारेमा पावलले उल्लेख गर्दा एउटा पूर्ण प्रक्रिया मार्फत उहाँको उच्चता बढेको उल्लेख गरेका छन् । एफिसी १:१९-२३ मा पावलले प्रभु येशू ख्रीष्टको बढुवा अर्थात उच्चता हाँसिल गर्दाको एउटा प्रक्रियालाई उल्लेख गरेका छन्। “उहाँको शक्तिशाली सामर्थ्यको काम अनुसार हामी बिश्वास गर्नेहरूप्रति उहाँको सामर्थ्यको अपार महानता के रहेछ सो जान्न सक; जुन सामर्थ्य उहाँले ख्रीष्टमा काममा लगाउनुभयो, जब उहाँले मरेकाहरूबाट उहाँलाई बौराएर उठाउनुभयो । आफ्नै दहिने हाततर्फ सबै प्रधानता, अधिकार, सामर्थ्य, प्रभुता र यस संसारमा मात्र होईन, तर आउनेवालामा पनि लिइने हरेक नामभन्दा धेरै माथि स्वर्गीय स्थानहरूमा बसाल्नुभयो; र सबै कुराहरू उहाँका पाऊहरूमुनि पारिदिनुभयो, र उहाँलाई सबै कुराहरूमाथि शिर हुनका निम्ति मण्डलीलाई दिनुभयो, जो चाहिँ उहाँको शरीर हो अर्थात उहाँको परिपूर्णता, जसले सबै कुरामा सबै कुराहरू भरिदिनुहुन्छ।” यस खण्डमा प्रभु येशूको बढुवा अर्थात उच्चता उहाँले सिद्ध गर्नुभएको काम र उहाँ बौरी उठ्नुभएको महानतामा आधारित रहेको देखिन्छ। उहाँ बौरी उठ्नु भए पछि उहाँले त्यो नाम जो येशू हो जुन नाम उहाँले मानव अवतार लिंदा प्राप्त गर्नुभएको थियो, त्यहि नामलाई परमेश्वरले अहिले उच्च पार्नुभएको छ। अब उप्रान्त त्यो नाम मानव नामभन्दा उच्च भएको छ। अब उसो यो नाम बराबर अन्य कुनै नाम दिएको छैन। अब उप्रान्त उहाँको स्थान प्रभु येशू ख्रीष्टको स्थान हो। यो नाम सबै किसिमका प्रधानता, अधिकार, सार्मर्थ्य र प्रभुता माथि उचालिएको नाम हो। यो नाम मण्डलीका लागि चाहिँ एक महिमित नाम हो किनभने यस नामको महिमा हुने स्थान उहाँको शरीर अर्थात मण्डली हो।मण्डलीले चाहिँ यस नामको कदर र महिमा गर्नुपर्दछ।