Categories
Assembly Truth Devotionals The Message to Young People

प्रोत्साहनका पुत्र-बर्णबास

परिचय-

बर्णबास नयाँ नियमको मण्डलीका एक प्रारम्भिक चेला थिए,जो भूमध्य सागरको साइप्रस भन्ने एक टापुका बासिन्दा थिए| साइप्रस टापु इज्राएल देशदेखि करिब ६० माएल्स टाडाको दूरीमा पर्दथियो| पावलको दोस्रो सुसमचारीय यात्रामा बर्णबास पावलकासाथ साइप्रस गएका थिए भने पछि मर्कूससँग पनि गएका थिए| उनको खास नाम चाहिँ “यूसूफ” थियो,तर पछि प्रेरितहरूले नै उनको नाम “बर्णबास”भनि कहलाएका थिए जसको अर्थ “प्रोत्साहनका पुत्र” हो | प्रेरित ४:36

बर्णबास एक असाधारण आत्मिक गुणहरूले भरिएका ब्याक्ति थिए | उनीसँग परमेश्वरप्रति अटल भरोसा थियो | उनको बारेमा पबित्र शास्त्र बाईबलले यसरी बताउँदछ | “बर्णबास ती व्यक्ति थिए जसले आफ्नो जग्गा जमिन बेचेर सबै पैसा प्रेरितहरूको चरणमा राखेका थिए |” प्रेरित ४:३६-३७ जब येरुशलेमका चेलाहरू शावलदेखि डराईरहेका थिए,त्यसबेला बर्णबासले नै शावललाई चेलाहरूसँग मेल गराएका थिए | प्रेरित ९:२६,२७ 

जब एन्टीओकमा अन्यजातिहरू बिश्वास गरेर प्रभुमा परिवर्तन भइरहेको थिए त्यसबेला बर्णबासलाई नै सेवाका लागि यरुशलेमबाट एन्टीओकमा पठाइएको थियो | एन्टीओकमा विश्वासीहरूको साँचो परिवर्त्तन र वास्तविक बिश्वासलाई देखेर तिनी ज्यादै रमाए र उनीहरूलाई सधै नै प्रभुमा लागि रहन उत्साहा गरे | बईबालले उनलाई “पबित्र आत्मा र विश्वासले भरिपूर्ण भएका एक असल मानिस” थिए भनेर भन्दछ |  प्रेरित ११:२२-२४ 

बर्णबासले नै पावललाई खोजेर एन्टीओकमा ल्याएका थिए जहाँ उनीहरू दुवैले एक बर्षसम्म सेवा गरे | उनीहरू एकसाथ यरूशलेमका विश्वासीहरूलाई भेट्न गएका थिए | (प्रेरित ११:२३-३०) यसरी एन्टीओक अन्याजातिहरूका लागि सुसमाचार प्रचार गर्ने मुख्य केन्द्र भयो जहाँ पबित्र आत्माले भन्नुभयो “मेरो निम्ति बर्णबास र शावललाई त्यस कामको निम्ति छुट्याओ,जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु |” प्रेरित १३:२ प्रोत्साहनका पुत्र बर्णबासको छोटो परिचयका साथै अब हामी प्रोत्साहन गर्ने ब्याक्ति बर्णबासमा देखिएका प्रोत्साहनका अनमोल गुणहरूको बारेमा चर्चा गर्ने छौं ताकि हामीले पनि प्रोत्साहन गर्ने गुणहरूको विकास गर्ने प्रोत्साहन पाउन सकौं |

प्रोत्साहन गर्नेहरू उदार मनका दानी हुन्छन्-बर्णबास एक उदार मनका दाता थिए |

जब हामीले प्रेरित ४ अध्यायमा पहिलो पटक बर्णबासको बारेमा पड्दछौं,उनको नाम यूसुफ थियो भन्ने जान्दछौं,तर चेलाहरूले उनलाई बर्णबास भनेर बोलाउँथे किनकि अरामिक भाषामा बर्णबासको अर्थ “प्रोत्साहनका पुत्र” हो | प्रेरित ४:३७ बाट हामी यो जान्दछौं कि बर्णबास केहि जग्गा जमिनका धनी थिए | खास गरेर लेवि कूलका मानिसहरूले आफ्नो हिस्साकोरूपमा कुनै जग्गा जमिन राख्न नहुने ब्यबस्था थियो | तर अचम्म लाग्ने कुरा यो छ कि बर्णबास एक लेवी कूलका थिए र पनि आफ्नो नाममा जग्गा जमिन राखेका रहेछन् | यर्मिया अगमवक्ता पनि पूजाहारी परिवारका अर्थात् लेवी कूलकै थिए तर सम्पतिका मालिक थिए | (यर्मिय ३२:७-१४) यहाँबाट स्पष्ट हुन्छ कि यो लेवीका घरानाले सम्पति हासिल गर्न नहुने व्यवस्था सँधै लागु भएको थिएन रहेछ | बर्णबास एक आर्थिक श्रोत भएका व्यक्ति रहेछन | उनको बिबाह भएको र बालबच्चा थिए भन्ने कुनै उल्लेख छैन | उनले आफ्नो जमिन बेचेर कति चाहिँ प्रेरितहरूलाई दिने भनेर केहि बेर सोचे होलान,तर बाईबलमा स्पष्ट लेखिएको छ कि “उनले सबै नै प्रेरितहरूको चरणमा राखिदिए |” यरूसलेमका गरिब विश्वासीहरूको सहयोगका लागि उनले सबै पैसा दिईहाले | बर्णबास एक उदार मनका दाता थिए|  यरूसलेममा मण्डली तिब्र गतिले बढिरहेको थियो | हजारौं मानिसहरू प्रभुमा आउन थाले पछि धेरै आर्थिक सहयोगको खाँचो थियो | बर्णबाससँग जग्गा जमिन थियो | उनले आफ्नो जमिन बेच्ने निर्णय गरे र त्यसको सम्पूर्ण पैसा यरूसलेमका प्रेरितहरूलाई दिने अठोट गरे | बर्णबास एक उदार मनका दाता थिए जसले आर्थिकरूपले शुरूका मण्डलीका बिश्वसीहरूको आवश्यकतालाई पूरा गर्न सहयोग गरे | वस्तवमा यो उनको प्रभुप्रतिको विश्वास र नयाँ गरेर विश्वासमा आउने विश्वासीहरूप्रतिको प्रेमको संकेत थियो | यसरी बर्णबासको उदार मन आदिकालका विश्वासीहरूका लागि एक उदाहरण थियो | एउटा प्रेरणाको श्रोत थियो |  

प्रोत्साहन गर्नेहरू कर्यवान हुन्छन् कप्टी हुँदैनन्-बर्णबास कर्यवान थिए कप्टी थिएनन | 

प्रेरितको पुस्तकले हामीलाई पहिलो शताब्दीका विश्वासीहरूको सबै कुरा साझा हुन्थ्यो भनेर मात्र भनेको छैन,तर उनीहरूले आफ्ना सबै सम्पति बेचेर सबैलाई बाँडथे र खाँचोमा परेकाहरूलाई दिने गर्दथे भनेर भनेको छ | (प्रेरित २:४५) अनि त्यसको ज्वलन्त उदाहरण चाहिँ बर्णबास नै थिए कि उनले आफ्नो अचल सम्पति बेचेर मण्डलीको वृद्धिका लागि अर्पिदिए | यसरी आदि कालका विश्वासीहरूको माझमा खाँचोमा खड्किनेहरू कोहि थिएनन,किनकि धनीहरूले सबै आफ्नो सम्पति बेचेर गरिबहरूको खाँचोलाई पूरा गर्दथे | यसरी प्रोत्सानका पुत्र बर्णबासले ब्याबहारिकरूपले नै प्रिय जनहरूलाई प्रोत्सान पुरयाए | प्रोत्सान गर्नेहरू काम गर्छन तर कप्टीहरू बहाना गर्छन | बर्णबासको दानको कथासँग जोडिएको एक दम्पति छ जसको नाम हननिया र सफिरा थियो | उनीहरुले पनि मण्डलीलाई दान दिने कोशिष गरे,तर उनीहरू वस्ताविक कार्यवान थिएनन-कप्टी थिए | बहाना गर्ने मात्र थिए | 

हननिय र सफिरा जस्ता धेरै मानिसहरू आज हाम्रा मण्डलीहरूमा पाइन्छ | उनीहरूलाई दिने दाता हुन् भनेर पहिचान गरिएको चाहान्छन तर आवश्यक कार्य भने गर्दैनन् | उनीहरूले बर्णबासले जस्तो पूर्णरूपको बलिदान ल्याएका थिएनन्-तर उनीहरूलाई बर्णबासको दर्जा चाहिएको थियो | उनीहरूले दान गरेको नकल गरे तर पैसाको केहि भाग आफ्ना लागि राखे | उनीहरूले देखाएको प्रेमको कार्य वस्ताविक थिएन | यो प्रेमको कार्यलाई उनीहरूमा भएको छल र स्वार्थले कुरूप बनाएको थियो | यहि कारणले गर्दा उनीहरू माथि कठोर न्याय खनियो | पत्रुसले यसलाई “पबित्र आत्मालाई छल गरेको” भनेर भन्दछन् | (प्रेरित ५:३ पद) यस्तो छल गरेर उनीहरूले पाउने सबै आशिष गुमाए किनकि उनीहरूले कार्य गरेनन्-कप्टी गरे | बर्णबासले चाहिँ ठीक यो दम्पतिको विपरितमा काम गरे | उनले सबै पैसा प्रेरितहरूको चरणमा राखे | यसरी प्रोत्सान गर्ने ब्याक्तिहरू कप्टी र बहना गर्ने हुदैनन् तर कार्यावन हुन्छन् | बर्णबास कप्टी थिएनन्,कार्यवान थिए |  

बर्णबास एक विश्वासयोग्य मित्र थिए | (प्रेरित ९:२६,२७)

शावल (जो पछि गएर पावल भए) दमीशक जाँदै गर्दा अचानक परिवर्तन भएका थिए | उनको चमत्कारी परिवर्तन र बप्तिष्मा पछि दमीशकमा नै रहे र सभाघरहरूमा प्रचार गर्दै रहे | (प्रेरित ९:२०) यद्ध्यापी केहि यहूदीहरूले तिनलाई मार्ने मतो गरेका थिए | (प्रेरित ९:२३) त्यसैले उनी दमीशकदेखि भागे | जब शावललाई सुरक्षितरूपले दमीशकदेखि भगाइयो,तब उनी यरूशलेम      फर्किए | (प्रेरित ९:२६ पद) यरूशलेम पुगेर तिनले भाईहरूसँग सामेल हुने प्रयत्न गरे | निश्चय नै तिनले बिगतमा आफुले मण्डलीहरूलाई सताएको र प्रभुका जनहरूलाई मार्ने धम्कि दिएको कुरा स्वीकार गरे होलान र आफु दमीशकको बाटोमा परिवर्त्तन भएको कथा सुनाए होलान,तर पनि त्यहाँका भाईहरूले तिनीमाथि विश्वास गरेनन्| तिनले मण्डलीलाई सताएको र नयाँ विश्वासीहरूलाई मार्ने धम्कि दिएको धेरै भएको थिएन | यरूशलेमका चेलाहरू शावलसँग डराएका थिए,त्यसैले उनी ख्रीष्टका साँचो अनुयायी हुन् भन्ने कुरा पत्त्याएनन् | यद्ध्यापी ठूलो हृदय भएका बर्णबासले शावललाई प्रेरितहरूकहाँ लिएर गए (प्रेरित ९:२६ पद) र शावलको जीवन कसरी बद्दलिएको थियो र तिनले कसरी सहाससँग दमीशकमा प्रचार गरेका थिए भन्ने कुरा बताए | यसरी बर्णबासले शावलको जीवन बद्दलिएको गवाही भाईहरुलाई दिएपछि मात्र यरूशलेममा शावलले स्वतन्त्रपूर्बक ईशाई संगतिको घेरामा पस्न सके | (प्रेरित ९:२८ पद) 

बर्णबासले नै शावललाई यरूशलेमका अरू दुई अगुवाहरूकहाँ पुरयाएका थिए र शावललाई त्यहाँको संगतिमा सारिक हुन मदत्त गरेका थिए | शावल त्यहाँका ग्रीक भाषी यहूदीहरूसँग चाडै नै घोलमेल भइहाले | (प्रेरित ९:२९ पद) शावल त्यहाँ त्यति धेरै समय रहेनन् किनकि भाईहरुले तिनलाई तार्ससमा पठाईहाले जहाँ तिनले सात-आठ बर्षसम्म सेवा गरे अनि एन्टिओकका मण्डलीमा काम गर्नका लागि तिनी एन्टिओकमा गए | यहाँबाट हामीलाई स्पष्ट हुन्छ कि बर्णबास एक उदार मनका दाता मात्र थिएनन तर एक विश्वासी मित्र थिए जसले शावलसँग मिलेर काम गर्ने जोखिम उठाए | एक असल मित्र जसले शावलमा भएको परमेश्वरको कामलाई देखे र तिनमा भएको क्षमतालाई कदर गरे | शावलका लागि बर्णबास एक सल्हाकार थिए जसको अगुवाई र प्रेरणाका कारण शावल (जो पछि पावल भए) ईशाई मण्डलीहरूमा एक प्रमुख पात्र बने | 

प्रोत्साहन गर्नेहरू भाईहरुमा समस्या होइन सक्षमता देख्छन्-शावल एक समस्या थिएनन्,तर एक सक्षम र सम्भावित ब्याक्ति थिए | 

प्रेरित पावललाई यति उच्च स्थानमा ल्याउने ब्याक्ति बर्णबासनै थिए भन्ने कुरा हाम्रो अध्यानले देखाई सकेको छ | पावलको यति उच्चतासम्मको यात्राको कहानी वस्तवमा दमीशकको बाटोबाट शुरू भएको थियो | एउटा चम्किलो ज्योति,स्वर्गबाट आएको आवज र जमिनमा ढलेको दृश्यले शावलको हृदयमा पबित्र आत्माको साँचो कामलाई स्पष्ट देखाएको छ | उनको जीवन परिवर्त्तनको बिन्दु यहि थियो | यस्तो चमत्कारी बद्दलाउ पछि प्रभुका चेलाहरूलाई खेदो गर्नुको साटो बरू उनीहरूसँग मिल्न चाहे ….“जब तिनी यरूशलेममा आए,तब त्यहाँका चेलाहरूसित तिनी मिल्न प्रयत्न गरे,तर उनी चेला हुन् भन्ने पत्यार नपर्दा सबै तिनीसँग डराए |” (प्रेरित ९:२६) प्रेरित पावलको पूरानो पृष्ठभूमिलाई राम्ररी नबुजी प्रेरित ९:२६ लाई बुझ्न कठिन हुन्छ | हामीलाई थाहा छ कि शावलले मण्डलीहरूलाई खेदो गर्दथिए | घर-घरमा प्रवेश गरी मानिसहरूलाई रथमा घिसार्दै कैद्सम्मा लगेका थिए | (प्रेरित ८:३) यस्तै त्रास फैलाउँदै शावल दमिशकका मूख्य पूजहाहारीकहाँ विश्वासीहरू सबैलाई जेलमा हाल्न पाउने अनुमति पत्र लिन गईरहेका थिए | (प्रेरित ९:९-२) 

यस घटनाबाट थाहा लाग्छ किन ख्रीष्टका साँचो चेलाहरूले शावलमाथि शंका गरेका थिए भनेर | यस्तो अवस्थामा उनलाई संगतिमा लिन सक्ने त सम्भावना नै देखिएन | सबैले समस्या देखे भने बर्णबासले चाहिँ शावलमा ठूलो सक्षमता र सम्भावना देखे | निश्चय नै बर्णबासले शावलको गवाही पहिला नै सुनेका थिए | यहाँ बर्णबासले शावलमाथि भएको परमेश्वरको काममा बिश्वास गरे-शावलमाथि खन्याईएको प्रभुको अनुग्रहमा भरोसा गरे| यसैकारण बर्णबासले शावललाई यरूशलेमका भाईहरूकहाँ ल्याउने र उनको जीवन कसरी एक चमत्कारी ढंगले दमीशकको बाटोमा बदलिएको थियो भन्ने गवाही भाईहरूलाई दिने आँट गरे | “ बर्णबासले शावललाई भाईहरूकहाँ ल्याए र उनले कसरी दमीशकको बाटोमा प्रभुलाई देखे र येशूको नाममा सहाससँग दमीशकमा प्रचार गरेका थिए भन्ने गवाही दिए |” (प्रेरित ९:२७-२८) 

प्रेरणा दिने ब्याक्तिको अर्को अमूल्य गुण त्यो हो कि उसले अरूले समस्या देखेको ठाउँमा सक्षमता देख्दछ | बर्णबासले शावलको जीवन गवाहीको आधारमा उनको बचन प्रचारको खुबीलाई देखे | उनीमाथि खन्याइएको प्रभुको अनुग्रहलाई देखे अनि शावलमा समस्या होइन सम्भावना र सक्षमता देखे | बर्णबास कति बुद्धिमानी ब्याक्ति थिए | आजका दिनमा हामी भाईहरूमाथि शंका गर्न कति छिटो छौं | हामी भाईहरुलाई बिगतका जीवन शैलीको आधारमा मूल्यांकन गर्छौँ | बिगतलाई हेरेर भाईहरूलाई संगतिमा लिन धेरै गाह्रो गर्छौँ तर त्यसको अर्को पाटोलाई हेर्न चाहिँ भुलिहाल्छौँ | कोहि ब्याक्ति बिगतमा समस्यपूर्ण हुन सक्छ तर त्यसको अर्को पाटोमा प्रभुको अनुग्रह उसमाथि प्रशस्त खन्याइएको हुन सक्छ,उसको जीवनमा पबित्र आत्माको काम भएको हुन सक्छ | धैर्यताका साथ् कसैको जीवनको अर्को पाटोलाई पल्टाउन सकिएन भने असाधारण क्षमता भएका भाई बहिनीहरू गुम्न सक्छन –दृश्यबाट लोप हुन सक्छन | यसैले अरूको जीवनमा भएको प्रभुको कामलाई पहिचान गर्न सक्ने आत्मिकपन हामीलाई चाहिएको छ-बर्णबास जस्ता बुद्धिमानी र आत्मिक दाजुभाई दिदीबहिनीको खाँचो छ | बर्णबास यहाँ शावलको पक्षमा खडा छन्–मिलाप गराउन तत्पर छन् | यहाँदेखि उसो शावललाई संगतिको घेरामा लिएर प्रभुको कामलाई फैल्याउन उत्साह दिने काम गर्दैछन | निश्चय नै पावलको सेवाको जग बर्णबासको प्रेरणा नै थियो | हामी सबैलाई प्रेरणा चाहिन्छ | प्रेरणा भनेको बल,तागत र शक्ति हो | आवश्यकरूपले प्रेरणा मार्ग दर्शक हो | 

एक पूराना दाज्यु नरमन एण्डरसनले बर्णबासको बारेमा यसरी लेख्नु हुन्छ :“हामीलाई थाहा छ कि हाम्रा प्रभु येशूले हाम्रा लागि मध्यस्तकर्ताको सेवा गर्नु हुन्छ जुन सेवामा सधै नै अनुग्रह,सहायता र उद्धार पाइन्छ | कति चोटी हामी बिश्वासीहरूको सेवा चाहिँ ठीक यसको बिपरितमा पाइन्छ| तर खुसीको कुरा यहाँ छ कि आत्माको शक्तिमा हिड्ने बर्णबासले हाम्रा धन्यका प्रभुले देखाउनु भएको आशिषमय मार्गको अनुशरण गरिरहेको हामी देख्न सक्छौं | हामी जे कुरामा संलग्न हुन्छौं,त्यसैको विशेषता देखाउँछौं,जसरी शान्त्वनाका पुत्र बर्णबासको हृदय चाहिँ परमेश्वरको दाहिने बहुलीपट्टी विराजमान हुनुहुने महिमित प्रभुको सेवामा संलग्न थियो–उनले प्रभुको अनुग्रही,दयालु र उद्धार दिने अमूल्य गुणहरुलाई आफ्नो जीवनमा लिइरहेका छन् र ती गुणहरू प्रेरणाका पुत्र बर्णबासमा स्पष्ट देखिरहेका छन् | उनको सेवाको मुख्य पाटो भनेको परमेश्वरका जनहरूलाई एकसाथ मिलाउने थियो | उनले मेल गराउँदै परमेश्वरका जनहरूलाई एक साथ् राख्ने काम गर्दाथे | के हाम्रो सेवा यस शेत्रमा काफी छ ? यो सेवाको पाटोलाई हामी कतिले अंगालेका छौं ? आज का दिनहरू कति कठिनपूर्ण छन्,जहाँ पबित्र जनहरूबीच फाटो,झैँझगडा,फूट र बेमेल छ | परमेश्वरले हाम्रा बीचमा यस्ता धेरै बर्णबासहरू खडा गरेका होउन् |”

बर्णबास एक प्रतिबद्ध प्रोत्साहक थिए (प्रेरित ११:२२-२६) 

सतावटका कारण केहि ख्रीष्टीयनहरू तितर-बितर भएर एन्टिओकको उत्तरी भागतिर गएका थिए | एन्टिओक रोमी साम्राज्यको मूख्य शहर थियो|  बर्णबासले एन्टिओक र एलेकजेन्द्रिया हुँदै आसपासका शहरहरूका यहुदीहरूलाई सुसमाचार प्रचार गरे | “अनि प्रभुको बहुली उनीहरूमाथि रह्यो” (प्रेरित ११:२१ ) र एन्टिओकमा भइरहेको कामको शुभसन्देश यरूशलेमको मण्डलीको कानमा    पुग्यो | (प्रेरित ११:२२) यरूशलेमका अगुवाहरूले चाहिँ अन्यजातिहरूलाई सुसमाचार प्रचार गर्नु उचित हो कि होइन भनेर चिन्ता गरिरहेका थिए,त्यसैले उनीहरूले बर्णबासलाई एन्टिओक्सम्मै जानु भनेर पठाए | जब बर्णबास एन्टिओकमा आईपुगे,तब त्यहाँ परमेश्वरको अनुग्रह देखेर खुसी भए र तिनीहरू सबैलाई हृदयको संकल्पले प्रभुमा लागिरहनु पर्छ भनेर उत्साहपूर्ण प्रोत्सहन दिए | बर्णबास पूर्णरूपले प्रभुमा समर्पित थिए कि उनी प्रभुमा बिश्वास गर्ने जो कोहिलाई देख्दा धेरै हर्षित हुन्थे | बर्णबासले एन्टिओकका विश्वासीहरूलाई प्रभुमा साँचोरूपले लागिरहन उत्साह गरे | (प्रेरित ११:२६) यहाँ उल्लेख भएको खण्डले स्पष्ट बताउँछ कि जब तिनी यरूशलेममा आए र परमेश्वरको अनुग्रहको प्रमाण देखे उनी खुसीले रमाए र सबै विश्वासीहरूलाई “हृदयको संकल्पले प्रभुमा लागिरहनु पर्छ भनेर उत्साहपूर्ण अर्ति दिए |” यो उत्साह भन्ने क्रियापद अपूर्ण कालमा उल्लेख छ जसले तिनले एकपटक मात्र उत्साह गरेका थिएनन् तर घरि विश्वासीहरूलाई परमेश्वरप्रति बफादार बनिरहन पर्छ भनेर प्रेरणा दिएका थिए | जब बर्णबासले एन्टिओकका विश्वासीहरूलाई ‘प्रभुमा लागिरहनु भनेका थिए,उनले तिनीहरूलाई बिना छलकपटसहित साँचोरूपले प्रभुमा रहिरहन उत्साह गरेका थिए | 

बर्णबासले विश्वासीहरूलाई खेलकुद र मनोरन्जनमा लागिरहन उत्साह गरेनन् तर प्रभुको भक्तिमा दृद्ता र धैर्यताका साथ् लागिरहनु भनेका थिए | गुड्स्पीड अनुवादले “प्रभुको भक्तिमा दृद्ता र धैर्यताकासाथ लागिरहनु” भनेर राखेको छ भने लिभिंग बाईबल अनुबादले यसलाई “ बर्णबासले विश्वासीहरूलाई “जस्तै परीक्षा र जोखिम आउँदा पनि प्रभुको नजिकमा रहिरहन आग्रह गरे” भनेर राखेको छ | एन्टीओक शहरको उत्तरी भागमा परमेश्वरको अनुग्रहको काम भैरहेको देखेर बर्णबास खुसीले रमाए र बिश्वासीहरूलाई सामर्थी र निर्धक्क बनाउन सक्दो प्रयास गरे | प्रेरित ११:२३-२४ ले हामीलाई यस कुराको स्पष्ट स्मरण दिलाउँछ | यदि मलाई मेरो मृत्यु कहिले हुन्छ र म कहिले प्रभुको पासमा जानेछु भन्ने थाह हुनु थियो र मलाई अन्तिम पटकका लागि बचन प्रचार गर्ने अवसर दिनु हो भने,यो प्रेरित ११:२३ पद नै म मेरो सन्देशको लागि छान्ने थिएँ | हरेक युगका परमेश्वरका जनहरूलाई प्रेरणा दिनलाई यी अथाह बचनहरू हुन् |

प्रेरित ११:२४ पदमा बर्णबासलाई बर्णन गरे अनुसार बर्णबासको जस्तो महान मानवरूप अन्या कुनै मानिसमा देखिएको छैन | प्रेरित कर्मका लेखकले बर्णबासलाई “पबित्र आत्मा र विश्वासले भरपूर्ण भएका एक असल मानिस थिए” भनेर भन्दछन् | 

बर्णबास एक पवित्र आत्माले भरिपूर्ण मानिस थिए:-बर्णबासले सेवा र साक्षीका लागि पवित्र आत्माको शक्ति पाएका थिए | उनी कहिले पनि आफ्नो व्यक्तिगत अहंकार र स्वार्थपूर्तिका लागि अघि बढेनन् | उनी काम गर्न इच्छुक थिए तर त्यस कामको कदर अरुले पाउन् भन्ने चाहन्थे | 

बर्णबास विश्वासले भरिपूर्ण व्यक्ति थिए:-बर्णबासले परमेश्वरको बचनको सत्यतामाथि बेजोड बिश्वास र पूर्ण भरोसा राख्दथिए | विश्वास र पश्चाताप सहित प्रभुकहाँ  आउने हरेक व्यक्तिलाई परमेश्वरले बद्लाउन सक्नुहुन्छ भन्ने कुरा बिश्वास गर्दथे |

बर्णबास एक असल मानिस थिए :– बर्णबास एक दयालु र कोमल मनका ब्याक्ति थिए | एक सिद्ध चरित्र र उच्च नैतिक स्तरका ब्याक्ति थिए | बर्णबास एक सम्माननीय,आदरणीय र नैतिक दृष्टिले एक राम्रा मानिस थिए | 

प्रोत्सान गर्नेहरूले आफ्नो खुबीको सीमालाई महसुस गर्छन् | 

मण्डलीको बृध्दि हुने क्रममा विश्वासीहरू ख्रीष्टको शरीरमा थपिँदै गइरहेका थिए | मण्डलीका लागि थप सेवा गर्ने ब्याक्तिको खाँचो थियो | बर्णबासकालागि एन्टिओकमा ज्यादा काम बढेको कारण उनी शावललाई खोज्न तार्ससमा गए | तार्सस एन्टिओकको उत्तर-पश्चिम भागको करिब १२५ माइएल टाडा थियो | शावललाई फेला पारे पछि तिनलाई लिएर एन्टीओकमा गए | (प्रेरित ११:२६ पद) यहाँ एउटा कुरालाई ख्याल गर्नु असल हुन्छ कि कुनै पनि अगुवाले आफ्नो खुबीको सीमालाई महसुस् गर्छन र आफ्नो सहयोगका लागि सहकर्मी ल्याउँछन् | यस्तो कार्यले उनको बुध्दि र निस्वार्थ आत्माको प्रमाण गर्दछ | उनीहरू दुबैले पूरा एक वर्षसम्म एकसाथ एन्टीओकमा शिक्षा दिँददै रहे | त्यस समय देखि उसो चेलाहरूलाई “ख्रीष्टीयन” भनेर कहलाइयो | (प्रेरित ११:२६)

यस भन्दा अघि चेलाहरूलाई भाईहरू-(प्रेरित १:१६); चेलाहरू-प्रेरित (६:१);सन्तहरू-(प्रेरित ९:१३) र विश्वासीहरू (प्रेरित १०:४५) भनेर कहलाएका थिए | अहिले उनीहरू ख्रीष्टीयन कहलाइएका छन्,कारण उनीहरूले घरी ख्रीष्टको बारेमा चर्चा गरिरहेका थिए | विश्वासीहरूको ब्याबहार र कार्यले पनि त्यहाँका छर-छेमेकीहरूलाई स्पष्ट पारिरहेको थियो कि यी मानिसहरू पूर्णरूपले ख्रीष्टमा लागिरहेका थिए भन्ने | यसैले उनीहरूले ती बिश्वसीहरूमा जे देखे त्यहि अनुरुप नामकरण गरिदिए | 

यो “ख्रीष्टियन”भन्ने शब्द नयाँ नियममा जम्मा तिन पटक मात्र उल्लेख गरिएको छ | पहिलो पटक यहि (प्रेरित ११:२६) मा बाहिरका मानिसहरूले चेलाहरूलाई ख्रीष्टियन भनेर कहलाए | दोश्रो पटक अग्रिपाले पावललाई भने “थोरै कुराले मलाई ख्रीष्टियन बनाउन कोशिष गर्छस् ? |” (प्रेरित २६:२८ ) अनि तेस्रो पटक प्रेरित पत्रुसले (१ पत्रुस ४:१६) मा “यदि कसैले ख्रीष्टियन जस्तो भएर दु:ख भोग्छ भनेता त्यसले शर्म नमानोस्,तर त्यहि चाहिँ नाममा परमेश्वरलाई धन्यबाद      चढाओस |” यहाँबाट स्पष्ट हुन्छ कि यो ख्रीष्टियन भन्ने शब्द प्राय जसो बाहिरका मानिसहरूले प्रयोग गरेको शब्द रहेछ र विश्वासीहरूले चाहिँ त्यति चल्तिमा नल्याएको शब्द रहेछ भन्ने    देखिन्छ | प्रेरित ११ अध्यायमा बर्णबास र शावललाई सेवाका लागि छुट्याउने र सुसनाचारको सन्देश लिएर सारा साम्राज्यभरि जानु भन्ने आदेश भयो | बर्णबास र शावल मर्कूसलाई लिएर साइप्रसको टापुतिर आफ्नो पहिलो सुसमाचारको यात्रामा गए | सायद त्यहाँ बर्णबासका आफन्त र साथीहरू थिए | बर्णबासले आफ्ना आफन्ता र मित्रहरूलाई पनि वचन प्रचार गरे होलान् | जब उनीहरू पाम्फिलिया क्षेत्रमा पुगे मर्कूस चाहिँ त्यहिँबाट फर्केर घर जाने निर्णय गरे | 

प्रोत्साहन गर्नेहरू प्रतिष्ठा होइन प्रेमको पछि लाग्छन् |

बर्णबासको प्रोत्साहन गर्ने प्रवृति त हामीले प्रेरित ११ अध्यायमा नै हेरिसक्यौं | हामीलाई थाहा छ कि बर्णबासलाई यरूशलेमको मण्डलीले एन्टीओकको मण्डलीमा सेवा गर्नलाई खटाएको थियो र जब उनी एन्टीओकमा पुगे तब उनले आफुले सँधै गर्दै आएको एउटा काम गरे-तिनले एन्टीओकको मण्डलीका विश्वासीहरूलाई हृदयको संकल्पसाथ् प्रभुमा लागिरहन प्रोत्साहन गरे | (प्रेरित ११:२३) केहि समय पछि जब बर्णबास त्यहि एन्टीओकको मण्डलीमा गए,तिनी अझ पनि त्यहि प्रेरणाको पानामा थिए | “अनि चेलाहरूका आत्मालाई स्थिर गराउँदै तिनीहरूलाई विश्वासमा रहिरहेर अनेक कष्ट सही परमेश्वरको राज्यमा पस्नै पर्छ भन्ने तिनीहरूलाई उत्साह गरे |” (प्रेरित् १४:२२) बर्णबासको प्रेरणाको ज्वाला सर्बत्र फैलिरहेको थियो र फलस्वरूप मानिसहरू मण्डलीमा थपिरहेका थिए | (प्रेरित ११:२४) यो त बर्णबासका लागि ठूलो सफलता थियो र मलाई अचम्म लाग्ने कुरा के छ भने बर्णबास कहिले पनि आफुले पाएको सफलताको सिंडी चढेनन् बरू आफुले पाएको सफलताको सिंडी चढनुको साटो पावललाई खोज्नलाई तार्ससतिर लागे | जब तिनले पावललाई भेटे,तब तिनलाई लिएर एन्टीओकमा गए र त्यहाँ रहेर करिब एक बर्षसम्म संगसँगै मानिसहरूलाई शिक्षा दिँदै रहे | (प्रेरित ११:२७)

यहाँ बर्णबासलाई प्रतिष्ठाको पछि लाग्नु थिएन तर मण्डलीमा बृद्दी भएका मानिसहरूप्रतिको प्रेम चाहिँ उनको जीवनको प्राथमिकता थियो | यसैले उनीहरूका लागि एक सक्षम शिक्षक उपलब्ध गराउनु उनको जीवनको मूख्य चाहना थियो | यस्तो शिक्षक जसले उनीहरूलाई बाइबलको साँचो शिक्षा सिकाउन सक्छ र उनीहरूको आत्मिक बृद्दी गर्न सक्छ | यसरी प्रोत्साहन गर्नेहरू प्रतिष्ठाको पछि होइन तर प्रेमको पछि लाग्छन् | आज कति भाईहरू बर्णबासको बाटोमा हिड्न चाहन्छन्    होला ? कति भाई बहिनीहरू दुनियाको ध्यान आफूमा केन्द्रित गर्नुको साटो,दृश्यको पछि भएर काम गर्न चाहान्छन होला ? प्रभुलाई धन्यबाद होस् किनकि यस्ता अमूल्य गुणका धनीहरूलाई प्रभुले सम्हाली राख्नु भएको छ जहाँ उनीहरूले कुनै किसिमको पहिचान र नामलाई अस्वीकार गरेका छन् र दृश्य बाहिर कदरयोग्य कामहरू गरिरहेका छन् | उनीहरूका लागि सामाजिक प्रतिष्ठाभन्दा पबित्र जनहरूप्रतिको प्रेम नै उनीहरूको उत्प्रेरणा हो |

बर्णबासको जीवनको अर्को एउटा चाखलाग्दो प्रसंग छ | यतिका समयसम्म बर्णबास एक अगुवाको स्थानमा छन् | यी दुई ब्याक्तिको विषयमा “बर्णबास र पावल” भनेर उल्लेख गरिन्थ्यो,तर यस समयदेखि अर्थात प्रेरित १४:१४ देखि उसो यसको क्रम ठीक उल्टो भएको छ र यहाँदेखि उता चाहिँ “पावल र बर्णबास” भनेर उल्लेख भएको पाईन्छ | म निश्चित छु कि यो क्रम बर्णबासका लागि उपयुक्त थियो,किनकि बर्णबास प्राथमिकताको पछि थिएनन् | बर्णबास कामको पछि थिए,दर्जाको पछि थिएनन् | यो क्रम बद्लिएकोमा बर्णबासलाई कुनै गुनासो भएको छैन | उनले यो क्रमलाई सहर्ष स्वीकार गरे किनकि यो क्रमलाई पबित्र आत्माले नै लागु गर्नु भएको थियो | त्यसैले यहाँदेखि उसोको यात्रामा उनीहरुलाई यहि क्रम अनुसार उल्लेख गरेको पाइन्छ | बर्णबासले यो क्रमलाई स्वीकार गर्नुमा दुई मूख्या कारण देखिन्छ | पहिलो: बर्णबासले आफ्नो क्षमताको सिमा बुझेका  थिए| दोश्रो:बर्णबासले अरूको क्षमताको कदर गर्न सिकेका थिए | यसरी प्रोत्साहन गर्नेहरूले अरूको क्षमतालाई कदर गर्छन् | 

बर्णबास एक क्षमाशील भाई थिए | (प्रेरित १५:३६-४१)

अबको हाम्रो अध्ययनमा हामी पावलले बर्णबाससँग पहिला प्रचार गरेका ठाउँहरूका भाईहरुलाई पु:न भेटघाट गर्न जाने बारेमा सल्हा गरेको बिषयमा हेर्नेछौं | पावललाई नयाँ विश्वासीहरूको उन्नतिको बारेमा गम्भीर चासो थियो त्यसैले तिनले उनीहरूलाई भेटेर के कसो गर्दैछन् सो जान्ने मनसाय गरे | बर्णबासले खुल्ला हृदयले यो सल्हालाई स्वीकार गरे,तर मर्कूसलाई पनि साथमा लिएर जाने इच्छा गरे | (प्रेरित १५:३७ पद) तर पावललाई त्यो कुरा उचित लागेन | (प्रेरित १५:३७-३८) किनभने मर्कूसले पहिलो सुसमचारिया यात्रामै उनीहरूलाई धोका दिएका थिए | पावलले मर्कूसलाई साथमा लिएर जानु हुँदैन भनेर जिध्दी गरे तर बर्णबास मर्कूसप्रति कोमल मनका हुने इच्छा गरे | यसरी उत्पन्न भएको मत्तभेदका कारण ती बिशाल आत्मिक ब्याक्तिहरूमा फूट आयो | बर्णबासको बुझाइमा मर्कूसले बिगतको गल्तिलाई महसुस् गरिसकेका छन् र तिनलाई पुनःअर्को मौका दिनु पर्छ भन्ने धारणा थियो भने पावलले चाहिँ उनीहरूलाई एक भरपर्दो ब्याक्तिको खाँचो थियो जो चाहिँ जस्तै कठिनाइ र खेदोहरूमा पनि खडा रहन सक्छ भन्ने धारणा थियो | 

सम्भवत दुवै जना आफ्नो अडानमा कडारूपले प्रस्तुत भए | यहाँ बर्णबासले आफ्नो भान्जा मर्कूसलाई छोड्न सकेनन नता पावलले मर्कूसप्रतिको अविश्वासलाई छोड्न सके | यहाँबाट नै उनीहरूको बाटो फाट्यो-दुवै आ-आफ्नो बाटो लागे | तर यहाँ दुबैको बाटो आशिषमय भयो किनकि दुबैले आफ्नो दिशामा सुसमाचार प्रचार गर्दै गए | पावल र सिलास सिरिया र सिलिसियातिर लागे (प्रेरित १५:४१) भने बर्णबास र मर्कूस साइप्रसतिर फर्के | (प्रेरित १५:३९) 

बर्णबासले मर्कूसलाई उत्साह गर्न चाहे किनकि त्यतिबेला मर्कूसका धेरै साथीहरू थिएनन् | बर्णबासले मन मनै यसो भने “मर्कूस यूहन्नालाई मेरो आवश्यकता छ,यदि मैले यिनलाई सहयोग गरिन भने उनी कहिल्यै प्रभुमा बढ्न सक्दैनन् |” यसैकारण बर्णबासले मर्कूसलाई आफ्नो साथ् लिएर गए र पहिलो सुसमचारिया सेवामा स्थापित भएका मण्डलीहरूमा फेरी भेटघाट गर्दै गए-त्यहाँको पारम्पारिक इतिहाँसले बताउँछ कि बर्णबास जीवनको अन्तिम क्षणसम्म साइप्रस टापुमै बसोबास गरे | 

यो ख्याल गर्नु जरूरी छ कि बर्णबास र शावलका बिचमा कुनै नचाहिँदो घोर झगडा भएन | पावलले पछि गएर बर्णबासको बिषयमा बढो सद्भावपूर्णरूपले बोल्दछन् | “के मलाई र बर्णबासलाई मात्र कामबाट फरक रहने अधिकार छैन ?” (१ कोरिन्थी ९:६ ) अनि यतिका समयसम्म मर्कूस पनि एक अनुभवी र परिपक्क भाई भईसकेका थिए भन्ने कुरामा पावल पनि निर्धक्क भएका थिए | यसैकारण पावलले तिमोथीलाई आफूकहाँ जेलमा भेट गर्न आउँदा “मर्कूसलाई पनि लिएर आउनु किनकि तिनी सेवाको कामका लागि फलदायक भएका छन्” भनेर लेख्छन् | (२ तिमोथी ४:११) 

पावल र बर्णबासबिचको मतभेदको बिषयमा एक प्रख्यात लेखक एच० ए० आइरनसाइड यसरी     लेख्छन्| “यति खेर पावल र बर्णबास दोश्रो सुसमचारिया यात्रामा थिए | अनि पावल र बर्णबास चाहिँ प्रभुको वचन सिकाउँदै र सुसमाचार प्रचार गर्दै अरू धेरै जनाका साथ् एन्टीओकमा रहे |” (प्रेरित १५:३५) केहि दिन पछि पावलको हृदयमा फेरी अर्को यात्रामा जाने मनसाय जाग्यो | तर पहिलो सुसमचारिया यात्रामा जस्तो पवित्र आत्माले खटाएको काम थियो भन्ने यहाँ कुनै उल्लेख छैन | पहिलो सुसमचारिया यात्रामा पवित्र आत्माले प्रमाणितरूपले यसो भन्नु भएको थियो| “ मेरो निम्ति बर्णबास र शावललाई त्यस कामको निम्ति छुट्याओ,जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु | तब सारा मण्डलीले उपबास र प्रार्थना गरेर तिनीहरूले उनीहरूमाथि हात राखेर उनीहरूलाई बिदा दिए |” (प्रेरित १३:२,३) निश्चितरूपले यहाँ पवित्र आत्माको अगुवाई भएको देखिँदैन,तर यसो भनिएको छ कि, “केहि दिन पछि पावलले बर्णबासलाई भने,लौ जुन शहरमा हामीले बचन प्रचार गरेका थियौं ती शहर पिच्छे फर्केर गई भाईहरूलाई भेट गरौँ र तिनीहरू के कस्ता छन् हेरौं |” (प्रेरित १५:३६) यहाँबाट स्पष्ट हुन्छ कि यो योजना चाहिँ पवित्र आत्माको अगुवाइमा नभएर पावलको आफ्नै इच्छाबाट उत्पन्न भएको योजना थिएछ | आश्चर्य लाग्ने कुरा यही छ कि यो योजनाको सुरूबाट नै अन्योलता आयो र यी महान प्रभुका दासहरूलाई गलत ठाउँमा पुरायो | बर्णबासले मर्कूसलाई साथमा लिएर जाने धारणा राखे तर पावलले बिगतलाई सम्झे र पहिलाको जस्तै मर्कूसले बाटोमै छोड्छन् भन्ने सोचले गर्दा लान मानेन् | यी दुई मूख्य ब्याक्तिहरूमा मतभेद निकै बढ्यो र अन्त्यमा बाटो नै छुट्यो | दुवै आ-आफ्नो दिशा तिर लागे |

प्रभुका यी दुई भक्त प्रेरितहरूको मतभेदको दृश्यलाई पड्दा धेरै दु:ख लाग्छ | पबित्र शास्त्र बाईबलले कहिल्यै पनि प्रभुका दासहरूको गल्तीलाई छुपाएर राखेको छैन | यो धेरै संसारिक मान्छेहरूको जीवनी भन्दा धेरै फरक प्रस्तुति हो | धेरैले आफ्ना अगुवा अथवा नायक चाहिँ हरेक कुरामा सिद्ध हुन्छन् भन्ने सम्झन्छन्;तर परमेश्वरको बचनको ज्योतिले सबै चुकाउहरूलाई देखाउँछ र उनीहरूको चुकाऊको लेखा राख्दछ | परमेश्वरको वचनले उनीहरूको सफलताको लेखा राखे जस्तै उनीहरूको चुकाउको पनि लेखा राखेको छ | यो दृश्य हाम्रो चेतावनी र प्रेरणा दुवैका लागि उल्लेख गरिएको छ | “चित्त दुखाएको भाईलाई मनाउनु किल्ला लिनुभन्दा गाह्रो हुन्छ,यस्तो झगडा किल्लाका बारहरूजस्तै बलियो हुन्छ |” (हितोपदेश १८:१९) 

बर्णबासले मर्कूसलाई पु:न अर्को मौका दिएकोमा हामी धन्यवादी हुनुपर्छ भन्ने मलाई लाग्छ | ख्रीष्टियन जीवनको यात्रामा बिशेष गरि सुरुमा चुक्ने धेरै जवान भाईबहिनीहरु हुन्छन्,तर त्यस्ता चुकाउहरूको कारणले उनीहरूलाई प्रभुको दाखबारीमा काम गर्न सक्ने सम्भावनालाई कम गर्न सक्दैन | हामी उमेर र अनुभवमा पाकाहरुले यस्ता जवानहरूलाई निन्दा गर्न होशियार हुनुपर्छ | बर्णबासले मर्कूसलाई साथ् दिए;यद्यपी भाईहरुले पावलको पक्ष लिए किनभने उनीहरूलाई पावलले ठिक गरे भन्ने लाग्यो | तर पछि गएर मर्कूसले धेरै असल फल फलाए |”

बर्णबास, तिनको उदार मन र तिनले शूरूको मण्डलीहरूमा पुरयाएको सेवाको ठूलो कदर र प्रशंसा पाउने योग्यका ब्याक्ति छन् | बर्णबासको निस्वार्थ चासो नभएको भए यरूशलेमका भाईहरूले  पावललाई सायद कहिल्यै ग्रहण गर्ने थिएनन् होला,मर्कूसले सायद प्रभुलाई छोडेर भड्किने थिए होलान् | हेर्नु होस् बर्णबासको निस्वार्थ सेवाले पावल जस्ता ब्याक्तिको आगमन भयो जसले १३ वटा पत्र लेखे भने मर्कूस जस्ता भाई संगतिमा अडिए जसले एउटा महान सुसमाचार लेखे| बर्णबास एक दयालु व्यक्ति थिए-कोमल हृदय र दानपूर्ण हात भएका ब्याक्ति थिए | बर्णबास एक विश्वासयोग्य मित्र,प्रतिबद्ध प्रोत्सानकर्ता,क्षमाशील भाई र उदार मनका दाता थिए | “उदारचित्तले गरिबलाई जो दिन्छ, त्यसले परमप्रभुलाई दिन्छ,उहाँले त्यसलाई भरिपूर्ण प्रतिफल दिनुहुन्छ | (हितोपदेश १९:१७)