Categories
Devotionals

क्रूसको कष्टबाट बोलिएका अन्तिम सात वचनहरू ।

यो हप्ता प्राय सबैले क्रूसको कुरा गरेको सुनिन्छ अनि पुनरुत्थानको कुरा गरेको सुनिन्छ । यसै बिषयमा मैले पनि त्यहि क्रूसका  कुरा गर्ने आँट गरेको छु अनि प्रभुको इच्छा भए दैनिक रूपले क्रूसको कष्टबाट बोलिएका सात वचनहरूलाई सबैमाझ बाँड्ने प्रयास गरेको छु । यो मेरो आफ्नै अध्यानको बिचार नभई मैले J.T.Mawson  को पुस्तक Standing by the Cross को एउटा Address “Seven words on the Cross: His last will and Testament बाट लिएको हुँ । यो पूर्णरूपले अनुबाद गरिएको होईन तर त्यहाँको शिर्षक र भावलाई जस्ताको त्यस्तै राख्ने प्रयास गरेको छु । 

“हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि तिनीहरूले के गरिरहेका छन् ती जान्दैनन् ।” लुका २३:३४ 

) उहाँले त्यसलाई भन्नु भयो, ‘म तिमीलाई साँच्चै भन्दछु, आजै तिमि मसित स्वर्ग-लोकमा हुनेछौ ।” लुका २३:४३ 

३) “हे नारी, हेर तिम्रो छोरा !! “हेर तिम्री आमा।” यूहन्ना १९: २५-२७ 

४) “ एली, एली लामा सबक्थनी अर्थात, हे मेरो परमेश्वर, हे मेरा परमेश्वर, तपाइले मलाई किन त्याग्नु भयो ? मत्ती २७: ४६ 

५) “मलाई तिर्खा लाग्यो।” यूहन्ना १९:२८-२९ 

६) “ अब सिद्धियो ।” यूहन्ना १९:३० 

७) “ हे पिता, म मेरोआत्मा तपाईको हातमाजिम्मा दिन्छु |”  लुका २३:४६ 

प्रिय मित्र, आउनुहोस्, अब हामी क्रूसको छेउमा जाऊँ र त्यहि क्रूसको कष्टबाट बोलिएका अन्तिम सात वचनहरूलाई सुनौं, तर हामी त्यो गिल्ला गर्ने ठूलो भीडका साथमा खडा रहेर ती अन्तिम सात वचनहरू सुन्ने छैनौ | हामी उहाँकी आमा मरियम र उहाँकै प्रिय चेला यूहन्नाका साथमा खडा रहेर ती अन्तिम सात वचनहरू सुन्नेछौं । हामी सिधै क्रूसमा लत्रिनु भएको मुक्तिदाताको मूहारलाई हेर्नेछौं अनि उहाँले त्यो क्रूसको कष्टबाट बोल्नु भएको ती वचनहरूलाई सुन्नेछौं । जब हामी उहाँलाई क्रूसमा देख्दछौं , तब हामी उहाँको बिषयमा गरिएको भविष्यवाणीलाई स्मरण गर्दछौं कि उहाँ “एउटा जातिको निम्ति मात्र होईन तर जताततै तितर-बितर भएका परमेश्वरका सन्तानलाई पनि उहाँले एकसाथ जम्मा गर्नलाई उहाँ क्रूसमा मर्नुभएको हो ।” ( यूहन्ना ११:५२) अब हामी उहाँ क्रूसमा मर्नुको उद्देश्यलाई मनन् गरौं, त्यस क्रूसको दु:खलाई बिचार गरौं अनि “जताततै तितर-बितर भएका परमेश्वरका सन्तानलाई एकसाथ गर्नलाई” भन्ने गहन वचनको अर्थलाई बुझ्ने प्रयास गरौं । 

“साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो बात सुन्छ र मलाई पठाउनेलाई बिश्वास गर्छ, उसमा अनन्त जीवन छ, औ त्यो इन्साफमा आउँदैन, तर मृत्युदेखि जीवनमा सरिहालेको हुन्छ ।” (यूहन्ना ५:२४) 

अब म तपाईलाई प्रभु येशू ख्रीष्टको दुखलाई मनन् गर्दै त्यस क्रूसको कष्टबाट बोलिएका वचनमा अभिब्याकता अनुग्रहलाई अध्यायन गर्नलाई आग्रह गर्न चाहन्छु । जब हामी यी वचनहरूलाई मनन् गर्दछौं, हाम्रो हृदय पूर्णरूपले यहाँ सम्लग्न बन्नु पर्दछ अनि उहाँमा पूर्णरूपले लागेको हृदयले मात्र क्रूसका यी वचनहरूलाई बुझ्न सक्दछन् । क्रूसको कष्टबाट बोलिएको पहिलो वचन चाहिँ लुका २३:३४ मा उल्लेख छ । 

अनि येशूले भन्नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि तिनीहरूले के गरिरहेका छन् ती जान्दैनन् ।” 

यो प्रार्थना प्रभु येशूले आफ्नो सार्वजनिक सेवालाई शुरू गर्दा यस्तो किसिमको प्रार्थना उहाँको मुखबाट निस्किएको थिएन नत यस्तो प्रार्थना उहाँका अन्य कुनै सेवाको बेलामा गर्नुभएको थियो । यस्तो प्रार्थना त त्यति खेर मात्र निस्किएको थियो जब उहाँले साढे तीन वर्षको आफ्नो सार्बजनिक सेवालाई पूरा गरे पश्चात; आफ्नो ईश्वरीर्य अनि नैतिक महिमाको हिंडाईमा मानिसहरूलाई आफ्नो प्रेमको प्रमाण दिए पश्चात; आफ्ना सबै शिक्षा र ईश्वरीर्य वचनहरू दिए पश्चात; उनीहरूका बालबालिकालाई आशिष दिए पश्चात; उनीहरू भोकाउँदा रोटी दिएर भोकलाई तृप्त पारे पश्चात; रोगीहरूलाई निको पारेर, कोरीलाई शुद्ध पारेर, अन्धाका आँखा खुलाएर, मूर्दालाई जीवित पारे पश्चात; उनीहरूका माझमा भलाईका कार्य गर्दै हिँडे पश्चात; परमेश्वरको अनुग्रहमा उनीहरूलाई प्रेम गर्दा गर्दै पनि; उनीहरूले उहाँलाई क्रूसमा चडाउनलाई माग गरे, क्रूसमा टाङ्ग्नुहोस, क्रूसमा टाङ्ग्नुहोस् भन्दै चिच्याए, उहाँको पवित्र मुहारमा थुके; उहाँको शिरमा काँडाको मुकुट लगाईदिए; उहाँको दाह्री लुछे; उहाँको कपडा गोला हाले; हात र पाऊमा काँटी ठोके; र सबै जना उहाँको गिल्ला गर्नलाई बसे; उहाँको कष्टलाई रमिता हेर्न थाले। जब मानिसहरूको घृणाको छाल उहाँमाथि उर्लेर आयो; त्यहि समयमा उहाँ बोलेको सुनियो; त्यो ठूलो घृणाको आँधीबेरिमा उहाँको मुखबाट यो प्रार्थना प्रस्फुटित भयो , “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि तिनीहरूले के गरिरहेका छन् ती जान्दैनन् ।” 

यस समयमा उहाँले अर्को प्रार्थना पनि गर्न सक्नु हुन्थ्यो । एक पटक त्यो क्षणको सम्झना गर्नुहोस ।  गेत्सामनीको बगैचामा एक जना चेलाले आफ्नो मालीकको रक्षाका लागि आफ्नो तरवार थुते, त्यस बेला अनुग्रही प्रभुले भन्नुभयो, “तिमी के ठान्दछौ, के म आफ्ना पितालाई बिन्ती गर्नसक्तिन, र के उहाँले मलाई बाह्र पल्टन भन्दा बढी स्वर्गदूतहरू अहिले जुटाईदिनु हुन्न र ?” (मत्ती २४:५३) उहाँले यस प्रार्थना गर्नु भएन । यदि उहाँले त्यो प्रार्थना गर्नु भएको भए सबैको बिनाश हुने थियो । त्यहाँ उपस्थित सबैका लागि कालो अन्धकार छाउने थियो । अनि हामी सबैका लागि पनि बिनाश र अन्धकार साँचीने थियो । हाम्रो पनि बाँच्ने उपाय केहि हुने थिएन । उहाँले त्यो प्रार्थना गर्नु भएन ;ती मानिसहरूले गर्न सक्ने अन्तिम दुष्ट्याई पूरा गर्न दिनु भयो अनि मात्र प्रार्थना गर्नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि तिनीहरूले के गरिरहेका छन् ती जान्दैनन् ।” यो प्रार्थना कठोर घृणाको प्रतिउत्तरमा दिएको अमर प्रेमको प्रमाण थियो । यो त कसैले सुधार गर्न नसक्ने खराबीमा झन्ल्किएको पूर्ण भलाईको कार्य हो । यस प्रार्थनामा प्रभु येशूको अन्तिम इच्छा र चाहना अभिव्यक्त छन् । यस प्रार्थनाले परमेश्वरको इच्छा हामी जस्ता दुष्ट मानिसहरूप्रति के थियो भन्ने कुरा पनि ब्याक्त भएको पाइन्छ । यो क्रूसको वरिपरि यहूदीहरू मात्र उपस्थित थिएनन् , त्यहाँ अन्यजातिहरू पनि उपस्थित थिए । यस जमातमा सबै किसिमा मानिसहरूको प्रतिनिधित्व रहेको थियो। त्यहाँ धेरै मानिसहरूको विचार कस्तो हुन्छ भन्ने प्रकाश भएको थियो अनि समग्रहमा हरेक मानिस परमेश्वरको बिरोधी हो भन्ने प्रकट भएको थियो । मानिसले परमेश्वरलाई आफ्नो जीवनबाट पर राख्न चाहन्छ भन्ने स्पष्ट देखिएको थियो । यस्ता सबै मानिसको घृणा, तिरस्कार, बिरोध र दण्डका बीचमा प्रभु येशूको प्रेमपूर्ण आवज सुनिन्छ, अनि सबै मानिसका अपराधलाई क्षमा गर्न यो प्रार्थना उहाँको मुखबाट निस्कन्छ,   “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि तिनीहरूले के गरिरहेका छन् ती जान्दैनन् ।” 

जति खेर प्रभु येशूले यो प्रार्थना गर्नुभयो, उहाँले आफ्नो वरिपरी रहेका खराब र दुष्ट मानिसहरूको जमातलाई मात्र हेरेर यो प्रार्थना गर्नु भएको थिएन तर उहाँले सम्पूर्ण मानिस जातिको पुस्ता-पुस्तालाई हेर्नु भएको थियो । उनीहरूको लागि कृपा माग्नु भएको थियो । उनीहरूको मुक्तिको लागि प्रार्थना गर्नुभएको थियो । आज त्यहि प्रार्थनाको प्रतिउत्तरमा सारा जगतमा सुसमाचार फैलिएको छ । अब हामी जति जनाले परमेश्वरलाई पिता भनेर चिन्छौं र प्रभु येशूलाई आफ्नो मुक्तिदाता भनेर जान्दछौं, पवित्र आत्मा हामीमा बास गर्नुहुन्छ र हामी सबै नै त्यो क्रूसको प्रार्थनाको प्रतिफल हौं भनेर जान्दछौं । अब प्रश्न यो छ कि हामी कति धेरै त्यस प्रार्थनाको गहन अर्थलाई बुझ्छौं र उहाँलाई हाम्रो जीवनमा उचाल्दछौं ?  

यी वचनलाई पढने बितिकै तपाईलाई थाहा हुनेछ कि यसको पहिलो खण्ड अर्थात् पहिलो भाग भनौ पहिलो वचनले सम्पूर्ण मानवजाति र उनीहरूको पापको बोझालाई समेटेको छ तर यस वचनको दोस्रो खण्ड अर्थात दोस्रो भागमा भने एउटा बिशेष पापीलाई केन्द्र बनाएको छ । मात्र एउटा पापीको खाँचोलाई सम्बोधन गरिएको छ । त्यहाँ खडा रहेका हजारौं मानिसहरूका बीचमा प्रभु एउटा दु:खित मर्न लागेको व्यक्ति तर्फ फर्किनुहुन्छ । त्यस मानिसको हृदय जागृत भएको छ, उसको आत्माले ज्योति पाएको छ र आफ्नो छेउमा क्रूसमा टाँगीनुभएको एक निर्दोष ब्याक्तिलाई हेर्न त्यसका आँखा खुलेका छन् । जब त्यस मानिसले उहाँलाई हेरयो, त्यस बेला उसले उहाँको महिमा मात्र देखेन तर उहाँको अनुग्रहलाई पनि देख्यो । जब उसले प्रभु भन्यो, उसले प्रभुको महिमालाई देख्यो अनि उहाँको प्रभुत्वलाई स्वीकार गर्र्यो । जब उसले “तपाई आफ्नो राज्यमा आउँनु हुँदा मलाई सम्झनुहोस्” भनेर भन्दछ त्यस समय उसले प्रभु येशूमा भएको अनुग्रहलाई देखेको थियो । यति खेर उसलाई थाहा भयो कि आफ्नो छेउमा लत्रिएका ब्याक्ति, घृणित र तिरस्कृत ब्याक्ति, अनि क्रूसमा झुण्डिएका ब्याक्ति त प्रभु हुनुहुदो रहेछ । त्यो कुकर्मीले तुरुन्तै चाल पायो अनि कल्भरी डाँडाको त्यो घृणा र तिरस्कारको कालो बादल पारि हेरयो अनि त्यो अन्धकारपूर्ण भएको कालो कल्भरी डाँडा पारी आशाको घाम झुल्कि रहेको देख्यो-उहाँको आउनेवाला राज्यलाई देख्यो । उसले उहाँको प्रभुत्व मात्र स्वीकार गरेको भए सायद उ अझ आशाहिन रहने थियो । उसले उहाँको महिमा मात्र देखेन तर उहाँको अनुग्रहलाई पनि देख्यो । यसैले उसले यसो भन्नलाई साहस गर्र्यो, “ मलाई सम्झनु होस् ।” उ त आफ्नो मृत्युशैयामा खट्पटि रहेकोथियो, अनन्त आगोको ज्वलामाथि झुन्डिरहेको थियो, आफ्नो शिरदेखि पाऊसम्मै पापले भरिएको थियो । उसले प्रभुलाई अरू केहि भन्न सकेन तर केवल आफ्नो आवश्यकता बताउन सक्यो । आफ्नो सबै मूर्खता र दोषहरूलाई प्रभुका सामु राख्न सक्यो । के यो उसको कल्पना मात्र थियो र ? होइन, मित्र यो उसको बिश्वास थियो । यहि विश्वासले प्रभुलाई आदर गरेको थियो। अब यस्तो बिश्वासको प्रतिउत्तरमा प्रभुले भन्नुभएको वचनलाई सुन्नुहोस्, “आजै तिमि मसित स्वर्ग-लोकमा हुनेछौ ।”

क्रूसको कष्टबाट बोलिएको अर्को वचन चाहिँ यहि अध्यायको ४३ पदमा पाइन्छ । लुका २३:४३ 

“उहाँले त्यसलाई भन्नु भयो, ‘म तिमीलाई साँच्चै भन्दछु, आजै तिमि मसित स्वर्ग-लोकमा हुनेछौ ।” 

कुन कुरा चाहिँ धेरै चकित लाग्ने हुन्छ भनेर मलाई थाहा भएन, किनकि पहिलो वचनमा प्रभुले हजारौं मानिसका लागि प्रार्थना गरेर क्षमाको प्रार्थना गर्नुभएको थियो तर अहिले त्यो क्षमाको कार्य एउटा पश्चातापी पापीमाठी केन्द्रित भएको छ । यो कस्तो अनुग्रह हो प्रभुको ? आज यहि अनुग्रहमा हरेक व्याक्तिलाई भेट्नुहुन्छ अर्थात भेट्न चाहनुहुन्छ जो ,आफ्नो विश्वासमा उहाँलाई पूकार गर्दछन् । यो संसार त यस विशाल विश्वको एउटा कलंक हो । यहाँ करोडौं मानिसहरू रहेका छन्, तर यस्ता करोडौंका जमातबाट एउटा पापी व्यक्तिले आफ्नो विश्वासमा उहाँलाई पूकार गर्दछ भने, उहाँले त्यसको पूकाराका सुन्नुहुन्छ । मलाई निश्चय छ कि यस क्रूसको एउटा कुकर्मिले उहाँ मेरो मात्र मुक्तिदाता हुनुहुन्छ भनेर सोच्यो । उसले आफ्नो सारा दुनियाँलाई भुल्यो र मात्र प्रभुलाई अंगाल्यो । मलाई लाग्छ यो क्रूसमै बद्लिएको पापीको कथा हामी सबैको कथा हो-हामी सबैको अनुभव हो अनि विश्वासमा पूकारा गर्ने हरेक आत्माले यहि अनुभव गर्न सक्छन् । 

अब एकै क्षणका लागि त्यो अनुग्रहलाई विचार गर्नुहोस् । त्यो अनुग्रह जो एक विशाल पापीमाथि खनियो । वस्तवमा ऊ एक विशाल पापी थियो । उसले जीवनमा अनेक मूर्ख कामहरू गरेको थियो । उसले धेरै लामो समयसम्म दुष्टको सेवा अरेको थियो । उसको असिमित अपराधहरूको कारण उसलाई यस संसारबाट निकालिँदै थियो तर अचम्म लाग्ने कुरा चाहिं यहि छ कि अब ऊ स्वर्गलोकमा पुग्दैछ । स्वर्गलोक त एउटा दोषरहित स्थान हो । पवित्र र पापरहित स्थान हो । अब यस्तो विशाल पापी मानिसमाथि त्यो बिशाल अनुग्रहको फाँटलाई बिचार गर्नुहोस् – यस्तो विशाल पापी मानिस स्वर्गलोकमा प्रवेश गर्दैछ । “आजनै तिमी मसित स्वर्गलोकमा हुनेछौ ।” यसको अर्थ प्रभुले त्यस विशाल पापी, दोषी र अपराधीलाई स्वर्गलोकका लागि योग्य बनाउनु भएकोछ | यो पापी क्रूसको कार्यको दोस्रो परिणाम हो । पहिलो कार्यमा बरब्बाले छुट्कारा पाएको थियो । दोस्रो कार्यमा क्रूसको कुकर्मिले छुट्कारा पायो । यो नै उहाँको अनुग्रहो फाँट हो । अब यस पापीका पापहरू जस्तै रंगका भए पनि, काला, राता नि गाडा रंगका भए पनि ती हिउँझैँ सेता पारिएका छन् । अब यो मानिस पूर्णरूपले स्वर्गलोकका लागि योग्य पारिएको छ । “ख्रीष्टको रगतले हामीलाई सब पापबाट शुद्ध पर्दछ ।” यो दृश्यले हामी सबैले प्राप्त गरेको अनुग्रहको हिस्सालाई दर्शाउँछ । अनि विश्वासमा उहाँकहाँ आउने जस्तै व्याक्ति पनि स्वर्गलोकका निम्ति योग्य ठहरिन सक्छ ।